काठमाडौं, भदौ २५ – राजधानी काठमाडौंसहित देशभरको राजनीतिक तथा प्रशासनिक संरचना मंगलबारदेखि आन्दोलकारीको नियन्त्रणमा पुगेको छ। दुई दिनयता भइरहेको हिंसात्मक प्रदर्शनले देशका प्रमुख शासकीय निकाय, नेताहरूको आवास तथा पार्टीका कार्यालयहरू ध्वस्त पारेका छन्।
सोमबार मात्र १९ जनाको मृत्यु भएको थियो भने मंगलबारसम्म मृतकको संख्या २४ पुगेको छ। आन्दोलनकारीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध उठेको आन्दोलनलाई दमन गर्ने सरकारी कदमको विरोधमा सरकारी भवनदेखि नेताहरूको निजी निवाससमेत निशाना बनाएका छन्।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका मुख्य कार्यालयमा तोडफोड र आगजनी भएको छ। अभिलेखहरू जलेर नष्ट भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास पनि आन्दोलनकारीको कब्जामा परेपछि दुवै उच्च पदाधिकारीलाई सेनाले सुरक्षित स्थानमा सारिएको छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवामाथि बुढानिलकण्ठस्थित निवासमा आक्रमण भएको छ भने प्रचण्डको खुमलटार र चितवनस्थित घरमा समेत आगजनी भएको छ। एमाले, कांग्रेस, माओवादी र एकीकृत समाजवादी दलका शीर्ष नेताहरू मुख्य निशानामा परेका छन्।
काठमाडौं बाहिर पनि आक्रमण व्यापक बनेको छ। भैरहवा विमानस्थलमा आगजनी भएको छ भने त्रिभुवन विमानस्थल बन्द गरिएको छ। नख्खु जेलसहित कैलाली, महोत्तरी, तनहुँ र पोखरा जेल तोडेर कैदीबन्दी भागेका छन्।
सुरक्षा निकाय आन्दोलन रोक्न असफल बनेका छन्। प्रहरीले आन्दोलकारीलाई नियन्त्रणमा लिन सकेको छैन भने नेपाली सेनाले समेत प्रत्यक्ष बल प्रयोग गरेको छैन। राजधानीमा दमकल र एम्बुलेन्स सेवा ठप्प छ।
यस घटनाले देश पूर्ण अराजकतातर्फ धकेलिएको विश्लेषकहरूले बताएका छन्। नेपालमा यसअघि २०४६ र २०६२/६३ सालमा भएका जनआन्दोलनमा यस्तो अवस्था आउन नदिइएको भए पनि अहिले शासकीय संरचना पूरै ध्वस्त भएको पहिलो घटना भएको जनाइएको छ।





