काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीभित्र देखिएका विभिन्न विसंगति र विकृतिहरूलाई विधान महाधिवेशनमा प्रस्तुत गरेको छ ।
यौनजन्य आचरणसमेत कतैकतै देखिन थालेको जनाउँदै आयोगले त्यसलाई सुधार्ने सट्टा नेताहरू सार्वजनिक रूपमा दम्भ देखाइरहनु दुखद
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा पार्टी अनुशासन आयोगका अध्यक्ष केशव प्रसाद बडालले प्रस्तुत गरेको प्रतिवेदनमा कुण्ठा र अतृप्त महत्वाकांक्षा, वैयक्तिक स्वार्थ, सांगठनिक अराजकता, लाभ–लोभमा आधारित अनुचित आशक्ति, अपरदर्शी आर्थिक गतिविधि र गुटगत प्रवृत्ति प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।
प्रतिवेदनमा कतिपय नेताहरूको खर्चालु जीवनशैली, बडप्पन, आक्रामक गाली–गलौज, रुखो वचनशैलीप्रति जनस्तरमै असन्तुष्टि देखिएको उल्लेख छ । यौनजन्य आचरणसमेत कतैकतै देखिन थालेको जनाउँदै आयोगले त्यसलाई सुधार्ने सट्टा नेताहरू सार्वजनिक रूपमा दम्भ देखाइरहनु दुखद भएको टिप्पणी गरेको छ ।
साथै, पार्टीभित्र विश्वासको संकट, कमिटी सदस्यहरूलाई समितिमा रहेजस्तो अनुभूति नहुनु, जनप्रतिनिधिहरूले पार्टी कमिटीसँग समन्वय नगर्नु जस्ता अवस्था गम्भीर चुनौतीका रूपमा प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।





