काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (भदौ २०) शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे औपचारिक उद्घाटन गर्नेछन्।
महाधिवेशन २२ गतेसम्म चल्नेछ। देशभरबाट आएका प्रतिनिधि र आयोजक गरी झण्डै २ हजार ३ सयभन्दा बढी सहभागी हुने एमालेले जनाएको छ। प्रतिनिधिलाई बिहान ९ बजेदेखि नै उपस्थिति जनाउन भनिएको छ।
उद्घाटन सत्रपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। स्थायी कमिटी सदस्य कर्ण थापाले भने फरक मतसहितको धारणा राख्नेछन्।
महाधिवेशनमा अनुशासन, लेखा, निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन्। यी प्रतिवेदनमाथि भदौ २१ गते समूहगत छलफल हुनेछ भने २२ गते निष्कर्ष प्रस्तुत गरी केन्द्रीय निर्वाचन सम्पन्न गर्ने कार्यक्रम छ। विधानसहितका प्रतिवेदन पारित गर्दै महाधिवेशन सम्पन्न गरिने एमालेले जनाएको छ।
ओली केन्द्रमै
यसअघि जस्तै यसपटक पनि महाधिवेशनमा अध्यक्ष ओली नै आकर्षणको केन्द्र बनेका छन्। उपत्यका छिर्ने नाकादेखि आकाशे पुलसम्म पार्टीले पोस्टर र झण्डा टाँस्दै महाधिवेशनलाई महाउत्सवको रौनक दिएको छ।
गोदावरीको बसपार्कदेखि सम्मेलन केन्द्रसम्म प्रवेशद्वार सजाइएको छ। २ हजार ८४० सिट क्षमताको हलमा ४ वटा प्रवेशद्वार बनाइएका छन्। एक नम्बर गेट प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि मात्र राखिएको छ भने अन्य पदाधिकारी, मन्त्री र मुख्यमन्त्रीहरूले प्रतिनिधिसँगै दोस्रो वा तेस्रो गेट प्रयोग गर्ने व्यवस्था गरिएको छ।
प्रविधिमैत्री व्यवस्था
यसपटक महाधिवेशनलाई प्रविधिमैत्री बनाउन क्यूआर स्क्यान प्रणाली लागू गरिएको छ। प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवकलाई वितरण गरिएको परिचयपत्र स्क्यान गरेर मात्रै हल प्रवेश गर्न दिइनेछ।
हल बाहिर ६ वटा कम्प्युटर बूथमार्फत स्क्यान गरेर सिट व्यवस्था मिलाइनेछ। यसरी प्रवेश गर्ने क्रममा सहभागीको उपस्थिति विवरण (एटेन्डेन्स डेटा) समेत संकलन गरिने मञ्च व्यवस्थापन समितिले जनाएको छ।





