काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको भनाइ अब दन्तकथा भइसकेको टिप्पणी गरेका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको स्पष्ट पारे। उनले भने, “शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन, बोकेको पनि हुँदैन। त्यो त दन्तकथा हो।”
शर्माले शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने मान्यतालाई अस्वीकार गर्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्नेबारे पर्याप्त प्रमाणसहित पुष्टि गरिसकेको बताए। “शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तकथा हो। आज विज्ञानले अर्कै पुष्टि गरिसकेको छ। त्यसकारण यो पृथ्वी चल्छ, तर केही ढल्दैन,” उनले भने।
उनको भनाइलाई पार्टी अध्यक्ष दाहालप्रति लक्षित राजनीतिक टिप्पणीको रूपमा व्याख्या गरिएको छ। केही दिन अघि प्रचण्डले राजनीतिको खाँबो आफुले छाडे ढल्ने टिप्पणी गरेका थिए ।





