काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ। बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो।
अब समितिबाट पारित भएको विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने तयारी गरिएको छ।
विधेयक पारित गर्दा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए। उनीहरूको फरक मतसहित विधेयक पारित भएको हो।
बैठकमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रारम्भिक बाल विकास (ईसीडी) कार्यकर्तालाई शिक्षकको मान्यता दिनुपर्नेमा जोड दिइन्। त्यस्तै, राप्रपाकी सांसद विना जैसवालले निजी विद्यालयहरूलाई गैरनाफामूलक स्वरूपमा रुपान्तरण गर्नुपर्ने तर्क प्रस्तुत गरिन्।
प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार





