काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११-० को ठूलो अन्तरले पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै विजयी भयो।
उत्तर कोरिया समूहको सबै तीन खेल जितेर ९ अंकसहित विजेता बनी आगामी वर्ष थाइल्याण्डमा हुने अन्तिम चरणमा छनोट भएको छ। यो टोली साविक विजेतासमेत हो र छनोटमा कूल ३६ गोल गर्दै कुनै गोल बेहोरेन।
नेपालले ३ खेलमा ४ अंक जोड्दै छनोट हुने सम्भावना गुमाएको छ। नेपालले भुटानसँग १-१ को बराबरी र साउदी अरेबियासँग १-० को जित हात पार्दा उत्कृष्ट उपविजेताको स्थानमा पुग्न नसक्दा छनोटबाट बाहिरिएको हो।
छनोटमा समूह विजेता सिधै छनोट हुने व्यवस्था छ भने उत्कृष्ट तीन उपविजेता पनि छनोट हुनेछन्, तर पाँच समूहका दोस्रो टिमहरूले नै ६ अंक जोडिसकेको हुँदा नेपालको सम्भावना समाप्त भएको छ। नेपालले आगामी खेलमा बराबरी खेल्ने लक्ष्य राखेको भए पनि सफल हुन सकेन।





