माधवलाई झलनाथको जवाफ : ‘एमालेमै फर्किनु तपाईंका लागि उपयुक्त हुन्छ’



काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेमै फर्कन सुझाव दिएका छन्। नेपालको पछिल्लो अभिव्यक्तिलाई लक्षित गर्दै खनालले बहुदलीय जनवादलाई मूल मान्यता मान्ने हो भने यसको केन्द्र एमाले भएकाले त्यहीँ फर्कन उचित हुने टिप्पणी गरे।

खनालले भने, “हामीले विद्रोह गरेर आएको पनि चार वर्ष भइसक्यो, महाधिवेशन भएको पनि १३ महिना पुगिसक्यो। तर अहिलेसम्म न वैज्ञानिक समाजवादको स्पष्ट कार्यक्रम आएको छ, न विद्रोह पुष्टि गर्ने ठोस प्रयास देखिएको छ।”

उनका अनुसार अध्यक्ष नेपाल बारम्बार बहुदलीय जनवादको पक्षमा बोल्ने भए पनि त्यो विचार एमालेकै मूल धारा हो। “यदि बहुदलीय जनवाद नै तपाईँको मूल मान्यता हो भने बरु कमरेड माधव आफैं एमालेमै फर्किएको राम्रो हुने थियो,” खनालले कटाक्ष गरे।

यसअघि अध्यक्ष नेपालले खनाललाई, “विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने ओलीजीको सेवा गरेर बस्नुस्,” भन्दै टिप्पणी गरेका थिए। पार्टीको अनुशासन विपरीत अभिव्यक्ति दिएको भन्दै उनले खनालको भनाइको आलोचना गरेका थिए।

प्रकाशित मिति : २०८२ साउन २५ गते शनिवार