काठमाडौं, साउन १९। माओवादी केन्द्रको तीन दिनदेखि जारी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र नेतृत्वको केंद्रीकरणको आरोप लगाउँदै विशेष महाधिवेशनको माग समेत गरेका छन्।
शर्माले आफू आत्मालोचना गर्न तयार रहेको बताउँदै अध्यक्ष प्रचण्डले पनि गल्ती स्वीकार गर्नुपर्ने सर्त राखेका छन्। तर, स्थायी कमिटीका अधिकांश सदस्यहरू भने प्रचण्डको नेतृत्वको पक्षमा उभिएका छन्।
बैठकमा राम कार्की, परशुराम तामाङ, अञ्जना बिसंखे र टंक राईलगायत केही नेताले मात्रै प्रचण्डको नेतृत्वमा प्रश्न उठाएका छन्। अर्का उपमहासचिव शक्ति बस्नेतले शर्मा बाह्य शक्तिबाट प्रभावित भएको आरोप लगाएका छन्।
हालसम्म प्रचण्डले १० बुँदे प्रस्ताव अघि सारेका छन्। तर, बहसको केन्द्रविन्दु शर्मामाथि केन्द्रित भएको छ।
पार्टीको ओरालो यात्राको जिम्मेवारी प्रचण्डले पनि लिनुपर्ने भन्दै शर्माले संघीयता, पहिचान र वर्गप्रतिको प्रतिबद्धताबाट विचलन भएको आरोप लगाएका छन्। तर नेतृत्व तह र दोस्रो पंक्तिका नेताहरूले प्रचण्डको विकल्प नरहेको निष्कर्ष निकालेका छन्।
सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने तयारी गरेका छन्।





