स्थायी कमिटी बैठकमा जनार्दन शर्माको आरोप: प्रचण्डकै कारण ३१ लाख जनमत गुमायौं



काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सार्वजनिक रूपमा गम्भीर असहमति जनाउँदै स्थायी कमिटी बैठकमा तीव्र आलोचना गरेका छन्।

आइतबार पार्टीको स्थायी कमिटी बैठकमा धारणा राख्दै शर्माले २०६४ सालको संविधानसभा निर्वाचनमा प्राप्त ३१ लाख जनमत गुमाउनुमा अध्यक्ष प्रचण्डकै जिम्मेवारी रहेको बताए। उनले प्रचण्डको वर्गप्रतिको प्रतिबद्धता कमजोर भएको, संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडिएको आरोप लगाए।

‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौं कि सक्दैनौं रु’ शर्माको भनाइ उदृत गर्दै स्रोतले जानकारी दियो।

उनका अनुसार वैचारिक लाइन, संगठनात्मक अराजकता, विधि र प्रणालीको अभावले पार्टी थप कमजोर बन्दै गएको छ। ‘स्वचालित संगठनको अभाव, विधि नअपनाउने कार्यशैली र केन्द्रिकृत मानसिकतामा रुमल्लिँदा समस्या जटिल बन्दै गएको छ,’ उनले भने।

शर्माले पार्टीलाई उकास्नका लागि विचार बहस, राजनीतिक स्पष्टता, विधि-पद्धति सहितको संरचना निर्माण, स्वचालित समिति र आत्मनिर्भर अर्थनीति आवश्यक रहेको औंल्याए। साथै, उनले विशेष महाधिवेशनको माग पनि गरे।

‘पार्टीभित्र जनउत्तरदायित्व, प्रतिस्पर्धा र जनसंगठन निर्माणका लागि विशेष महाधिवेशन नै अहिलेको विकल्प हो,’ शर्माले बताए।

देश र जनताको लागि आफू आत्मालोचना मात्र होइन, जुनसुकै त्याग गर्न तयार रहेको बताउँदै उनले प्रचण्ड स्वयंले पनि जिम्मेवारी लिनुपर्ने माग गरेका छन्। ‘अध्यक्षबाट उत्पन्न समस्याको जिम्मा उहाँले लिनुपर्छ,’ शर्माको भनाइ स्रोतले उल्लेख गरेको छ।

शुक्रबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा शनिबारसम्म अधिकांश नेताहरूले शर्मालाई आत्मालोचनाको सुझाव दिएका थिए। तर उनले नेतृत्वलाई समेत प्रश्न गर्दै गम्भीर पुनर्संरचना र स्पष्ट राजनीतिक दिशा अवलम्बन गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार