काठमाडौं, साउन १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका एमाले नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलामाथि पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै महासंघले स्पष्टीकरण मागेको छ। महासंघका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध अराजक अभिव्यक्ति दिएको आरोप लागेको छ।
महासंघले उनीहरूलाई स्पष्टीकरण सोध्नुका साथै छानबिन गरी अनुशासन आयोगमार्फत कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। महासंघले वक्तव्यमार्फत भनेको छ, “केपी शर्मा ओलीविनाको एमाले कल्पना गर्न पनि नसकिने” निष्कर्षमा महासंघ उभिएको छ।
यसअघि पनि भण्डारीको पक्षमा उभिएका युवा संघ र अन्य भ्रातृ संगठनका केही नेता तथा कार्यकर्तामाथि एमालेले स्पष्टीकरण माग्दै कारबाही गरिसकेको छ।





