नेपालको चेतावनी पछि भारतले आफै भत्काउन थाल्यो दशगजा मिचेर बनाएको बाँध



रौतहट । स्थानीयको लगातारको प्रतिकार र प्रशासनको कडा चेतावनीपछि रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मिचेर भारतले निमार्ण गरेको बाँधको मिचेको भूभाग आफैले भत्काउन सुरू गरेको छ । भारतले बलमिच्याई गरेर दशगजा मिचेर बाँध बनाइरहेपछि स्थानीयले आफै जागेर सो कार्यको प्रतिकार गर्दै बाँध निर्माण कार्य रोकाएका थिए । त्यस लगतै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको सुरक्षा प्रमुखहरुको टोलीले सो क्षेत्र अनुगमन गरेर भारतले एकतर्फी रुपमा निमार्ण गरिरहेको सो बाँधले दशगजा मिचेको प्रमाणित गरेको थियो ।

४८ घण्टे चेतावनीपछि भारतीय पक्ष पछि हट्यो
नेपाली सर्वेयरहरुले नाप्दाखेरी बाँध निर्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मिचेको पाइएकाले सो मिचिएको भाग भत्काउन भारतीय पक्षलाई प्रमुख जिल्ला अधिकारी घिमिरे ४८ घण्टाको समय दिनुभएको थियो । टोलीले अनुगमन गरेको छ । समय दिएको ४८ घण्टा बित्न नपाउँदै भारतीय पक्षले बुधबारदेखि दशगजा मिचिएको क्षेत्रको बाँधको भागहरु भत्काउन सुरु गरेको स्थानीय आलोक सोनीले जानकारी दिनभयो । उहाँका अनुसार भारतले बाँध बनाउने क्रममा राखेको वालुवाले भरेको वोराहरु स्काभेटर प्रयोग गरेर हटाउँदै गएको छ भने सो क्षेत्रमा भरेको माटो पनि खाली गर्दै गइरहेको छ । सो कार्यको अनुगमन सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले गरेको उहाँले जानकारी दिनुभयो ।

यो नेपाल र नेपाली जित हो : स्थानीयवासी
भारतले आफैले दशगजा मिचिएको क्षेत्रको बाँध हटाउन सुरु गरेकोमा निकै खुसी लागेको सो नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विगु साहले बताउनुभयो । उहाँले सबैको सहयोगबाट भारत पछाडि हटेको भन्दै यो नेपाल र नेपालीको जित भएको बताउनुभयो । उहाँले भारतले आफ्नो सम्झौता तोडेर कुनैपनि बेला फेरि दशगजा मिचेर बाँध बनाउन सुरुगर्न सक्नेभन्दै सबै सचेत रहनुपर्ने धारणा राख्नुभयो । ‘यो हामी सबै नेपालीको जित हो’ उहाँले भन्नुभयो, ‘तर भारतको पूरै भर पर्न सकिदैन् त्यसैले हामीले निरन्तर अनुगमन र सचेत हुनुपर्छ ।’

उहाँले भारतले दशगजा मिचिएको क्षेत्र भत्काउन सुरु गरेपनि सो बाँधकै कारण डुबान हुने हुनाले वर्षाको पानी निकासको लागि बाँधमा निकास राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतले भत्काउन सुरु गरेपनि गतिभने निकै सुस्त रहेकाले आशंका जारी रहेको बताउँदै यसको लागि सबैले निरन्तर दवाव खवरदारी गरिरहनु पर्नेमा जोड दिनुभयो ।

अनुगमन निरन्तर राखिने छ : प्रजिअ घिमिरे
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भारतले दशगजा मिचिएको स्थानमा आफैले भत्काउन सुरु गरेको भन्दै उसले भत्काइसकेपछि अनुगमन गर्दै दशगजा मिचिएको नमिचिएको नापिने बताउनुभयो । ‘भारतीय पक्षले हामीले दिएको समयसिमा भित्र आफैले भत्काउन सुरु गरेको छ’ उहाँले भन्नुभयो , ‘यसको थप अनुगमन हामी गर्नेछौँ र दशगजा मिचिएका ठाउँहरुको बाँध सबै भत्काउन लगाउनेछौँ । यदि अटेर गरे हामी आफै भत्काइदिनेछौँ ।’ उहाँले भारतले आफैलेनै बाँधले मिचेको दशगजा खाली गर्ने विश्वास व्यक्त गर्दै यसको निरन्तर अनुगमन जारी राख्ने बताउनुभयो ।

यसअघि भारतीय पक्षले नेपाली पक्षसँग गरेको सम्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमार्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्रतिकारमा उत्रिएका थिए । सो क्रममा भारतीय पक्ष र स्थानीय बीच निकै चर्काचर्की र वादविवाद भएको थियो । स्थानीयको प्रतिकार पछि भारतीय पक्षले बाँध निर्माण कार्य भने रोकेको थियो । प्रतिकारमा उत्रिएका स्थानीयलाई सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी वलले पनि साथ दिएर भारतीय पक्षलाई एकतर्फी ढंगबाट निर्माण गर्न लागेको बाँधको कार्य रोक्न दवाव दिएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार