
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नयाँ नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले आफ्ना प्रतिस्पर्धी तथा निवर्तमान नेता बहादुर सिंह लामालाई पराजित गर्दै जित हासिल गरेका हुन्।
कुल ३७ सांसद रहेको दलमा बानियाँले आवश्यक बहुमत २२ मत प्राप्त गरे। लामा १४ मतमा सीमित भए भने एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसअघि बानियाँकै नेतृत्वमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो, जुन २२ मतले पारित भएको थियो। सोही प्रस्ताव पारित भएसँगै रिक्त भएको संसदीय दलको नेताको पदका लागि निर्वाचन गरिएको हो।
यो कार्यकालमा बानियाँ र लामा दोस्रो पटक आमनेसामने उत्रिएका हुन्। २०७९ सालमा भएको अघिल्लो प्रतिस्पर्धामा लामा विजयी भएका थिए। इन्द्र बानियाँ कांग्रेसका बागमती प्रदेश सभापति समेत हुन्। उनको जितसँगै कांग्रेस बागमती प्रदेशमा नयाँ नेतृत्वमा अघि बढ्ने संकेत देखिएको छ।