शिक्षा विधेयक अब अघि बढ्ने,साउन १९ गतेभित्र संसदमा पेस गर्ने तयारी



काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा विधेयक अब अघि बढ्ने स्पष्ट गरेका छन्। उनका अनुसार सरोकारवालाहरू र सरकारबीचको विवादका कारण रोकिएको विधेयक अन्ततः सहमति जुटेसँगै संसदतर्फ अघि बढ्ने भएको हो।

थापाले साउन ११ गते शिक्षामन्त्री, प्रमुख दलका सचेतकहरू, शिक्षा समितिका सभापति र शिक्षक महासङ्घका प्रतिनिधिबीच बसेको छलफलमा विधेयक अघि बढाउने सहमति बनेको जानकारी दिए। सो छलफलपछि मन्त्रालयबाट सहमतिसहितको पत्रसमेत प्राप्त भइसकेको भन्दै उनले अब विधेयक यथास्थितिमा अगाडि बढाइने बताएका हुन्।

उनका अनुसार समितिको अडान जस्ताको तस्तै रहेको छ र मन्त्रालय पनि त्यसैमा सहमत भएको छ। विशेषगरी ६०/४० को विवादमा पहिले सहमति भए पनि आवधिक बढुवाको विषयमा असहमति रहेकाले विधेयक रोकिएको थियो। तर अब त्यो विषयमा पनि सहमति बनिसकेको थापाले बताए।

“अब ऐन ल्याउने सवालमा कुनै हालतमा रोकिँदैन, संसदमा पेस हुन्छ,” उनले भने ।

थापाका अनुसार विधेयक पेस गर्ने मिति भने समितिको बैठकले टुंगो लगाउनेछ। उनले भने, “७५ प्रतिशत प्रतिवेदन तयार भइसकेको छ। साउन १३ र १४ गते बस्ने बैठकले मिति तय गर्छ। यदि बैठक समयमै बस्न सक्यो भने साउन १५ गते प्रतिवेदन वितरण गरिन्छ, १६ र १७ गते अध्ययनका लागि छुट्याइन्छ र साउन १८ गते अन्तिम प्रतिवेदन तयार गरी १९ गते संसदमा पेस गर्न सकिने योजना छ।”

उनले समितिका केही सदस्यहरू हाल बाहिर रहेकाले बैठकको कोरम सुनिश्चित गर्न पहल गरिरहेको बताए। “कोरम पुग्यो भने १९ गते पेस हुन्छ,” थापाले स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ साउन १४ गते मङ्गलवार