
काठमाडौं। कांग्रेस र एमालेका कारण समितिमा अड्किएको विद्यालय शिक्षा विधेयक साउनभित्र प्रतिनिधि सभामा पेश गर्ने तयारी गरिएको छ । प्रमुख दलहरू बीचका विवादित विषयहरूमा सहमति जुटाएर विधेयक पेश गर्ने तयारी गरिएको हो ।
नेपाल शिक्षक महासंघ र त्यसमा आबद्ध संघसंस्थाहरूले साउन २१ सम्मको अल्टिमेटम दिँदै शिक्षा विधेयकमा शिक्षकका माग समेट्न निरन्तर दबाब दिइरहेका छन्। उनीहरूले प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि संशोधन दर्ता गर्ने र त्यसपछि राष्ट्रियसभा मार्फत थप सुधार गर्ने योजना बनाएका छन्।
शिक्षामन्त्री पन्तप्रति विधेयक अड्काएको र समन्वय गर्न असक्षम भएको भन्दै असन्तुष्टि देखिएको छ। विधेयकमा सहमति जुटाउन अब शीर्ष नेताहरूबीच समन्वय आवश्यक देखिएको छ।
नेपाली कांग्रेसका पूर्णबहादुर खड्का र श्यामकुमार घिमिरे, तथा एमालेका शंकर पोखरेल र महेश बर्तौलाबीच केही दिनभित्रै छलफल हुने तय भएको छ। यस्तै, उपसमिति संयोजक छविलाल विश्वकर्मा, सांसद डिगबहादुर लिम्बू र माओवादीसहितका प्रमुख सचेतकबीच समेत छलफल गरेर विधेयकलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
समितिका अनुसार, विधेयकलाई टुंग्याएर साउन ३० गतेभित्र प्रतिनिधिसभामा पेस गर्ने तयारी छ। यदि कुनै अड्चन नआए साउनभित्रै विधेयक संसदमा पेस हुनेछ। समितिले विधेयकलाई लामो समयसम्म रोकेर राख्नु नहुनेमा एकमत रहेको जनाइएको छ।