
शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले विद्यालय शिक्षा विधेयक माथि छलफल भएर सहमति भएका कुनै पनि बुँदामा अब छलफल नगरिने बताएका छन् । असार १६ गतेसम्म भएका सहमतिलाई टुङ्ग्याएर लक गरिसकिएको बताउँदै अब ती विषयमा कुनै पनि हालतमा छलफल नगरिने बताएका हुन् ।
समिति भित्रका सबै सदस्यको सहमति भएपनि नेपाली काँग्रेसका एक जना सांसदका कारणले मात्रै विधेयक माथिको छलफल रोकिएको उनको भनाई छ । ‘समितिका सदस्यहरू सबैले हुँदैन छलफल गरौँ भनेर भनिए त मेरो केही लागेन, नत्र अब सहमति भएका कुनै पनि बुँदामा छलफल हुँदैन । मैले लक गरिसकेको छु’ उनले भने ।
थापाले अरू कसैबाट यसलाई नरोकिएको बताउँदै नेपाली काँग्रेसका कारणले मात्रै केही दिनलाई छलफल रोकिएको बताए । पार्टीका दलहरूले दबाब दिएपनि टुङ्गिएका विषयमा उल्ट्यएर छलफल नहुने र त्यसैलाई अगाडी बढाएर समितिबाट सहमति गरेर संसदमा पेस गरिने उनको भनाई छ ।
समितिले असार १६ गतेसम्म सबै विषय टुङ्ग्याएर प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे बाधक बनेको समितिका सदस्यहरूको आरोप छ । शिक्षा समितिले अस्थायी प्रकृतिका शिक्षकहरूको हकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी गरिने सहमति जुटेपनि घिमिरेका कारण रोकिएको आरोप छ । तर यसरी अगाडी बढ्न नहुने भन्दै अन्य सांसदहरू आपत्ति जनाएका छन् ।
नेपाल शिक्षक महासङ्घले भने विगतमा भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने माग राख्दै आएको छ । सहमति अनुसार ऐन नआए फेरी आन्दोलनमा जाने महासङ्घको चेतावनी छ ।