शिक्षा विधेयक असार १५ मा पारित हुने सम्भावना समाप्त, महासंघ हेरेको हेर्यै



काठमाडौं । सरकारले सहमति गरेअनुसार असार १५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा पारित हुने सम्भावना समाप्त भएको छ । संसदीय समितिमा विधेयकमाथिको छलफल नै टुंगिन सकेको छैन । समितिले छलफल टुंग्याएपछि मात्र विधेयक संसदमा पेश हुन्छ ।

शनिबार बसेको बैठकमा केही विषयमा सहमति भएको छ । आज (आइतबार) बिहान ८ः३० मा बस्ने गरी स्थगित भएको छ । अन्तिम चरणको छलफलमा जुटेको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक शनिबार साँझसम्म पनि चलेको थियो ।

समितिकी सदस्य एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठका अनुसार शिक्षा समन्वय इकाई राख्ने, एसईईलाई प्रदेशको जिम्मा दिनेलगायत विषयमा सहमति भएको छ । ‘संघीयताको मर्म नमर्ने गरी समन्वय इकाई राख्ने सहमति भएको छ’ पूर्वमन्त्री श्रेष्ठले भनिन्, ‘यसमा सबैको सहमति छ ।’

यसैगरी, एसईई प्रदेशबाट सञ्चालन हुने व्यवस्था गर्ने तर यसका लागि निश्चित समयावधि राखेर त्यसैअनुसारको व्यवस्था गरिनु पर्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिइन् ।

समितिका एक सदस्यका अनुसार अझै कतिपय विषयमा सहमति जुट्नै बाँकी छ । उपसमितिले बुझाएको प्रतिवेदनका थुप्रै बुँदाहरुमा छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको उनले बताए । ‘समितिमै विधेयकको अन्तिम टुंगो लागेको छैन’ ती सदस्यले भने, ‘छलफलै नटुंग्याइ संसदमा पेश गर्ने कुरा आउँदैन, शिक्षा विधेयक असार १५ मा पारित हुने सम्भावना समाप्त भएको छ ।’

शिक्षा ऐन मुख्य माग राख्दै शिक्षक–कर्मचारीले २०८१ माघ २० गतेदेखि आन्दोलन गर्दै आएका थिए । पछिल्लो चरणमा २०८१ चैत २० देखि जारी काठमाडौं केन्द्रित सडक प्रदर्शन गरिएको थियो । झण्डै एक महिना चलेको आन्दोलनपछि सरकारले आन्दोलनकारीसँग वार्ता गरेको थियो ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग वैशाख १७ गते भएको वार्तामा सरकारले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सहमति गरेको थियो । सहमति भएसँगै महासंघले आन्दोलन स्थगित गरेको थियो ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार