कक्षा १ भन्दाअघिको प्रारम्भिक बालविकास कक्षा (ईसीडी) २ वर्षको हुने भएको छ । शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ईसीडी कार्यक्रम दुवै प्रकारका विद्यालयमा २ वर्षको रहनेमा सांसदहरूले सहमति जुटाएका हुन् । शिक्षा विधेयकमा दलहरूबीच सहमति जुटेसँगै ईसीडी विद्यालय संरचनाभित्र समेटिएको छ ।
स्रोत सुनिश्चित गरी सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बालविकास तथा शिक्षालाई दुईवर्षे कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिने समितिले जनाएको छ । ‘कुनै पनि विद्यालयले पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा बढी अवधि हुनेगरी सञ्चालन गर्न पाउने छैनन्,’ समिति सभापति अम्मरबहादुर थापाले विधेयकको व्यवस्था पारित भएको उल्लेख गर्दै भने ।
यसअघि ईसीडी सञ्चालनमा सामुदायिक र निजी विद्यालयमा फरक–फरक अवधि राख्ने प्रस्ताव अघि सारिएको थियो । सामुदायिक विद्यालयले दुई वर्षसम्म र निजीले जति वर्ष पनि सञ्चालन गर्न सक्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा प्रस्ताव गरिएको थियो। फरक–फरक अवधि हुँदा बालबालिकामाथि विभेद हुने तर्क सांसदहरूले गर्दै आएका थिए ।
हाल सामुदायिक विद्यालयमा १ वर्षे र निजीमा ३ देखि ४ वर्षसम्म ईसीडी कक्षा सञ्चालन हुँदै आएको छ । उक्त विषयमा छलफल गर्न एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वमा बनेको उपसमितिले सामुदायिक र निजी दुवै विद्यालयमा ईसीडीलाई दुईवर्षे बनाउने सहमति गरी प्रतिवेदन पेस गरेको थियो ।





