काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । ४५ दिनको समय लगाएर उपसमितिले तयार पारेको प्रतिवेदनमाथि समितिमा औपचारिक छलफल सुरु भएको हो ।
छविलाल विश्वकर्माको संयोजकत्वमा गठन भएको उपसमितिले विधेयकमाथि दफावार छलफल गरी तयार पारेको प्रतिवेदन गत जेठ ४ गते समिति सभापति अम्मर बहादुर थापालाई बुझाइएको थियो । उक्त प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई तीन दिनको समय दिइएको थियो ।
बुधबार बसेको समितिको बैठकमा सदस्यहरूले प्रतिवेदनकै आधारमा विधेयक तयार गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले निजी विद्यालयको व्यवस्थापन, प्रारम्भिक बाल विकास कक्षा (ईसीडी) लगायत पेचिला विषयमा सरकारको स्पष्ट धारणा माग गरेका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार





