मेयरलाई विद्यार्थीको प्रश्न: ‘विद्यालय भूत घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु ?’



मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ? सर्लाही हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनेर बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।

हरिवनमा हिजो आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताउनुभयो ।

उहाँले मेयर विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गर्नुभयो । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । हरिपुर्वा नगरपालिका–४ मा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उहाँको भनाइ थियो ।

‘विद्यालय विद्यालयजस्तो छैन’, छात्र भण्डारीले भन्नुभयो, ‘विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु ?’, स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उहाँको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उहाँको भनाइ छ ।

गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जाँदैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ । यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन । धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । विद्यालय नियमित गरिदिन र आवश्यकतानुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गर्नुभयो ।

हरिपुर्वा नगरपालिका–६, श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको उहाँको गुनासो छ । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।

यसरी सञ्चालन गरेको कक्षामा पढ्ने माहोल नभएको अर्का छात्रा रीता महतोले बताउनुभयो । ‘विद्यालयमा कक्षाकोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन्, अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्ने विद्यार्थीले सुन्दैनन’, उहाँले भन्नुभयो, ‘हामीले बारम्बार विद्यालय तथा बाल क्लबको सहायता माग राख्दा सुनवाइ भएन ।’ साह यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

नगरका अधिकांश विद्यालयको हालत उस्तै रहेको सहभागी बालबालिकाको भनाइ थियो । छात्रछात्रा नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने तर आवश्यक परेका स्थानका बालबालिकाले सुविधा नपाउने अवस्था भोगिरहेको साहले बताउनुभयो । स्थानीय सरकारको दोस्रो कार्यकालको तीन वर्ष सकिन लाग्दा पनि स्कुल वर्षातमा तलाउ बन्ने र हिउँदमा धुलो उडेर बस्न नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

अर्कातर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै अवरूद्ध हुने गरेको छ । यस्तो अवस्थामा सबै विद्यार्थी प्रभावित बनिरहेका सहभागी छात्र राजु रामले बताउनुभयो । गएको शैक्षिकसत्रमा पनि विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद भएको थियो । त्यही विवादले निकै समय विद्यालय बन्द रह्यो । परीक्षाको केही दिनअघि मात्र पनि एक हप्ता पठनपाठन रोकियो । यसले परीक्षाको समयमा धेरै समस्या भएको उहाँको अनुभव छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार