युवा तथा खेलकुद मन्त्रालयले बागमतीमा स्पोर्टस् अवार्ड तथा युथ समिट गर्दै



हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले स्पोर्टस् अवार्ड तथा युथ समिट गर्ने भएको छ । प्रदेश सरकार स्थापना भएपछि पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट हेटौंडामा आयोजना गर्ने तयारी भइरहेको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए ।

मन्त्रालयले स्पोर्टस् अवार्ड तथा युथ समिट गर्न ३ सदस्यीय उपसमिति गठन गरेरको छ । उपसमितिको संयोजकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दिपक श्रेष्ठ छन् । सदस्यहरुमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका वरिष्ठ प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।

युवा खेलाडीको प्रोत्साहनका लागि मन्त्रालयले यो कार्यक्रम गर्न लागेको महर्जनको भनाइ छ । ‘युवा खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना गरेर मात्रै पुग्दैन । उनीहरुलाई हौसलासँगै प्रोत्साहन पनि राज्यको तर्फबाट गर्नुपर्छ’ उनले भने ।

मन्त्रालयले जेठको पहिलो हप्ता हेटौंडा उपमहानगरपालिका–४ हुप्र (लोकतान्त्रिक चौर)मा प्रदेश स्तरीय स्पोर्ट्स अवार्ड तथा युथ समिट गर्ने भएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार