काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विधेयक वैशाख २३ गते संसदमा पेश हुने भन्दै शिक्षकहरूलाई घर फर्किन आग्रह गरेका छन् । शिक्षकले आन्दोलन जारी राखे पनि घर गए पनि सरकारले विधेयक ल्याउने बताए ।
नेकपा एमालेनिकट पेशागत महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले वैशाख २३ अघि विधेयक ल्याउन सम्भव नरहेको बताएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १२ गते संसदको अधिवेशन आह्वान गरेका छन् । प्रि बजेट छलफल, नीति तथा कार्यक्रमजस्ता नियमित प्रक्रियाहरू रहेकाले विधेयक वैशाख २३ को बैठकमा पेश गर्ने तयारी छ ।
ओलीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने- शिक्षकले आन्दोलन जारी राखे पनि २३ गते अघि विधेयक आउँदैन । प्रचण्ड सरकारको पालामा ७ बुँदे सम्झौता गर्नेहरू आएर बचनबद्धता व्यक्त गर्छन् भने त्यसमा सहमति हुनसक्छ । शिक्षक आन्दोलनमा लागेका नारा र भाषणहरू पनि सुनिएकै छ । सरकारले गर्न सक्ने र संविधानले दिनेसम्मका माग शिक्षकले आन्दोलन नगरे पनि अब विधेयकमा सम्बोधन हुन्छन् । तपाईँहरू घर जानुस् ।





