काठमाडौं महानगरका २ हजार ७३० विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा



काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको वैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो । त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

ज्ञवालीका अनुसार ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ७३० जना रहेको छ । यस्तै ३.२ देखि ३.६ सम्म जिपिए प्राप्त गर्ने ६ हजार ४५५ जना, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने ३ हजार ९७ जना, २.० देखि २.४ जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । यस्तै ० देखि १.६ सम्म जिपिए ल्याउने विद्यार्थी ५ हजार १७४ जना छन् ।

विषयगत रुपमा हेर्दा गणित विषयमा सबैभन्दा धेरै ३ हजार ९५६ जना विद्यार्थीले नट ग्रेडेड छन् । ३६ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थीहरु नट ग्रेडेडमा पर्छन् । दोस्रोमा सामाजिक तथा मानव मूल्य शिक्षामा १ हजार ९८२ जना, विज्ञान तथा प्रविधिमा १ हजार ७९६ जना, स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयमा १ हजार २१२ जना, नेपाली विषयमा १ हजार ४४४ जना, अंग्रेजीमा १ हजार ११७ जना र नेपाल भाषामा ६६७ जना विद्यार्थीले नट ग्रेडेड छन् ।

नतिजामा कसैलाई ग्रेस मार्क दिइएको छैन । विषयगत नट ग्रेडेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने समितिले निर्णय गरेको छ । परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि आधारभूत तहको परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिर राखिएको थियो । महानगरपालिकाको १६ औँ नगर सभाबाट स्वीकृत बजेट तथा कार्यक्रममा कक्षा ८ को परीक्षा होम सेन्टर नपर्ने गरी केन्द्रअनुसार सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण एवं नतिजा प्रकाशन तथा विश्लेषण व्यवस्थापन, प्रश्न पत्र निर्माणका लागि रोष्टर शिक्षकको प्रशिक्षण, कार्यशाला र प्रश्नपत्र निर्माण सफ्टवेयर खरिद तथा अनुगमनका लागि १ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यसलाई कार्यान्वयन गर्दै यस वर्ष होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र तोकिएका थिए । परीक्षाका लागि १८ हजार २९४ जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये वडा नं. ४ सुकेधारामा सञ्चालित ग्राण्ड एकेडेमी र वडा नम्बर ४ कै महाराजगञ्जमा रहेको स्किम पब्लिक स्कूलबाट कुनै पनि विद्यार्थी परीक्षामा सहभागी भएनन् ।

परीक्षा समितिका सदस्य सचिव ओमप्रसाद गौत्तमका अनुसार यस वर्ष १२४ जना विद्यार्थी अनुपस्थित भए ।

महानगरपालिकाभित्र आधारभूत तहसम्म सञ्चालित ५०४ वटा विद्यालय छन् । यीमध्ये २ वटाले परीक्षामा विद्यार्थी सहभागी नगराएपछि यो संख्या ५०२ भएको छ । यसमा ७४ वटा सामुदायिक, २० वटा वैकल्पिक र ४०८ वटा संस्थागत विद्यालय छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार