४० प्रतिशत क्षयरोगका बिरामी लुकेर बसेको अनुमान



क्षयरोगका ४० प्रतिशत बिरामीहरू समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ। विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो।

केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको पनि बताए।

‘गत वर्ष हामीले क्षयरोग लागेका ४० हजार सात सय ७६ बिरामीहरू पत्ता लगाएर औषधि उपचारमा लगाएका छौँ। अन्तर्राष्ट्रिय तथ्यांकले ६८ हजार बिरामीहरू प्रतिवर्ष छन् भन्ने देखाएको छ,’ उनले भने, ‘अझै पनि ४० प्रतिशत बिरामीहरू समाजमा लुकेर बसेको हुनसक्ने हाम्रो तथ्यांकले देखाएको छ। त्यस्ता बिरामीहरू पत्ता लगाउनको लागि हामीले विभिन्न क्रियाकलपाहरू गरिरहेका छौँ। त्यसअनुसार प्रत्येक वर्ष १६ हजार मानिसको मृत्यु क्षयरोगको कारण भएको अनुमान गरिएको छ।

क्षयरोगीमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको बताए। तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको संक्रमण बढ्दै गएको छ। क्षयरोग बिरामीहरूमा १४ वर्षमुनिका बालबालिकाहरू ८.६ प्रतिशत रहेको बताए।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार