काठमाडौँ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। सोमबार काठमाडौं महानगरपालिका-१४ कलंकीको एक घरमा ३६ वर्षीय थापा अचेत अवस्थामा भेटिएका थिए।
उनको सहिद मेमोरियल अस्पताल पुर्याई उपचार गराउँदा चिकित्सकले सोमबार साँझ साढे ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
बोहराका अनुसार कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको घटना विवरण प्राप्त भएको छ । कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए ।
थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौँ गएका थिए । आइतबार थापाकी छोरीको जन्मोत्सव मनाउन हेटौँडा नफर्की काठमाडौँमै बसेका थिए । काम विशेषले मन्त्री श्रेष्ठ शनिबार रौतहटमा जानुपर्ने भएकाले थापालाई काठमाडौँमै छोडेर फर्किएका थिए ।
आइतबार छोरीको जन्मोत्सव मनाएर उनी राति १० बजे कोठाबाट बाहिरिएका थिए । सो पश्चात् उनी परिवारको सम्पर्कमा थिएनन् ।
सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ । सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको मन्त्री श्रेष्ठले बताए । सो अडियोमा धादिङका एक जनाको आवाजसमेत रहेको र ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि प्रहरी रिहा गरेको पाइएको छ ।
अडियो क्लिपको बारेमा सामान्य सोधपुछपछि ती व्यक्तिलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात् थप प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
प्रहरी परिसरले मृतक थापाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको विवरण छ ।





