सरकारलाई तोसिमा कार्कीको प्रश्नः ‘जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश?’



पाथीभरा (मुक्कुमलुङ)मा केबलकार बनाउने विषयमा भएको शनिबार राति ताप्लेजुङमा भएको झडपको विषयले संसदमा प्रवेश पाएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले राज्यको अकर्मण्यताले नागरिकहरू ‘एस केबलकार’ र ‘नो केबलकार’को रुपमा विभाजित भएको बताएकी छन्।

उनले भनिन्, ‘राज्यको अकर्मण्यताले नागरिकहरू ‘एस केबलकार’ र ‘नो केबलकार’मा विभाजित भएका छन्। लडाइँको स्थितिमा छन्। अराजक छन्, आक्रोशित छन् र सरकारले उचित निकास दिन सकेको छैन।’ समाजवादको नारा भजाउने पार्टीहरू सरकारमा भएको अवस्थामा सरकारले नागरिकप्रति देखाउने अभिभावकत्व यही हो त भन्दै प्रश्न गरेकी छन्।

‘पाथीभरा (मुक्कुमलुङ)मा संसरचनाहरू बनाउँदा विवादरहित बनाउने दायित्व त्यहाँको आयोजना समिति र राज्यको थियो तर त्यसो हुन सकेन,’ उनले थपिन्, ‘गत साल पनि सहमतिबेगर केही कार्य अघि नबढाउने सम्झौता भएको थियो तर कार्यान्वयन भएन। यही माघ २२ गते छ बुँदे सम्झौता भए पनि त्यसको उल्लंघन भयो।’

उक्त सहमतिमा पक्राउ परेकाहरूलाई निःशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा भएका थिए। त्यसले राज्यप्रतिको विश्वास पनि ढगमगाएको भन्दै सांसद् कार्कीले जनतालाई लाठी हानेर, गोली चलाएर अनि जनता मारेर गरिने विकासलाई विकास भन्ने विनाश भन्ने भन्दै उनले प्रश्न गरेकी छन्।

उनले थपिन्, ‘जुन ठाउँमा विकासका योजना लगिन्छ, त्यही ठाउँका जनतामाथि लाठी प्रहार गरेर, गोली चलाएर अनि जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश?’ उनले त्यहाँ भइरहकेको निर्माण कार्यलाई तत्काल स्थगित गरेर वार्तामार्फत विषयलाई सम्बोधन गर्नसमेत आग्रहर गरिन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार