ज्वाला संग्रौला भन्छिन्ः रास्वपाका नेताहरु एउटा न एउटा काण्डमा मुछिएकै छन्



राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अर्को विवादित अभिव्यक्ति दिएकी छन्। उनले आफ्नो ‘विरोध वा आलोचना’ गर्ने रास्वपाका नेता-कार्यकर्ताहरूको विगत खोज्दै जाँदा कुनै न कुनै काण्डमा मुछिएको समेत दाबी गरिन्। केही दिनअघि सामाजिक सञ्जालमार्फत ‘रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ अभिव्यक्ति दिएपछि उनी थप विवादित बनेकी थिइन्।

पार्टीका संस्थापक नेता लामिछानेमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला केन्द्रीय सदस्यबाटै ‘भ्रम फैलाउने खालको’ अभिव्यक्ति दिएको भन्दै ज्वालामाथि दर्जनौँ नेता-कार्यकर्ताहरूले कारबाहीको माग गरेका थिए। तर, ज्वालाले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधे जवाफ दिन तयार बताउँदै उल्टै आफ्ना नेता-कार्यकर्ताहरूको पर्दाफास गर्ने धम्की दिएकी छन्।

उनले भनेकी छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हूँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय। तसर्थ संयमित बन्नुस्। मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भएपनि जवाफ दिन तयार छु।’

केन्द्रीय सदस्य ज्वालाले पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका पूर्वनेता-कार्यकर्ताहरूले आफ्नो खेदो पनि आरोप लगाएकी छन्। उनले ‘बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ भन्ने लेखाइमा सामान्य त्रुटी भएको स्वीकार गरेकी छन्।

ज्वालाले सामाजिक सञ्जालमा थप स्पष्टीकरण दिँदै लख्छिन्, ‘मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्। यसबाट म कतै विचलित भएकी छैन, किनकि यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो।’

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार