नेपालमै पहिलोपटक नेशनल प्याथ ल्याबले सञ्चालनमा ल्यायो आनुवंशिक प्रयोगशाला



काठमाडौं । नेसनल प्याथ ल्याबले नेपालकै पहिलोपटक आनुवशिंक निदान प्रयोगशाला संचालनमा ल्याएको छ । ल्याबले १२औं शाखा ललितपुर लगनखेलमा विस्तार गरी सो सेवा ल्याएको हो ।

उक्त सेवा संचालनमा आएसँगै अब गर्भमा रहेको भ्रुणमा आनुवशिंक रोग भएरनभएको पत्ता लगाउन सकिन्छ। यसअघि यस्तो परीक्षणका लागि विदेशमा पठाउनुपर्ने बाध्यता थियो । आणविक तथा आनुवशिंक निदान सेवामात्र होइन, ल्याबमा सबैखाले परीक्षण सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिक व्यवस्थापन गरेको प्रयोगशालाको दावी छ ।

उक्त शाखाको शुक्रबार नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसालले शाखा उद्घाटन गरे । कार्यक्रममा उनले नेसनल ल्याबका माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताए ।

नमुना परीक्षण तथा कर्मचारीका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उनको दाबी छ ।

संस्था अध्यक्ष रुद्रबहादुर कार्कीले नेपालभरि नै व्यवस्थित ल्याब विस्तार गर्ने लक्ष्य रहेको सुनाए । प्रयोगशालाका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार प्रयोगशालामा ‘सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरु’ अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिबाट सेवा उपलब्ध गराइनेछ ।

१५ करोड रुपैयाँ लागतमा स्थापना भएको नयाँ शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धी परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत रहेको जोशी बताउँछन ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार