माल्टाका ३० भन्दाबढी युवालाई ड्राइभिङ तालिम



ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नंं २ माल्टाले वडाका ३० भन्दाबढी युवालाई ड्राइभिङ तालिम दिने भएको छ । शनिबार नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङले नख्खुस्थित प्याराडाइज ड्राइभिङ स्कुलमा तालिमको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि थिङले युवालाई सिप सिकाएर आत्मनिर्भर बनाउने वडाको कामको प्रसंसा गर्दै युवा लक्षित कामले भविष्यमा राम्रो परिणाम दिने बताए ।

उनले भने ‘वडाध्यक्षको काम राम्रो छ, युवालाई सिप सिकाएपछि उनीहरु आत्मर्निभर हुन्छन् यसले रोजगारीको सम्भावनाको ढाेकाहरु खोल्छ।’ ड्राइभिङ लाइसेन्स नहुँदा युवाहरुले समस्या झेलेको बताउँदै थिङले भने ‘ प्याराडाइजले सिप मात्रै सिकाउँदैन लाइसेन्स दिलाउन समेत सहजीकरण गर्छ।’

कार्यक्रममा वडाध्यक्ष रामबहादुर भोलुनले यसअघि एसईई उत्तिर्ण विद्यार्थीलाई कम्प्युटर तालिम दिएको स्मरण गर्दै उक्त तालिम प्रभावकारी भएपछि ड्राइभिङ तालिमको आवश्यकता महसुस भएको बताए । युवालाई सिप सिकाउँदा वडालाई पनि फाइदा हुने भन्दै भोलुनले भने ‘बजेट नपुगे जुटाउँला, नभए अर्को वर्ष व्यवस्था मिलाउँला तर सिप सिक्न चाहने युवालाई खाली हात फर्काउँदिनँ।’ उनले सूचना देखेपछि फोन गरेका सबैलाई सिप सिक्न आउन आग्रह गरेको बताए ।

प्याराडाइज ड्राइभिङ स्कुलका संचालक नरेशचन्द्र श्रेष्ठले आफुले १६ सयभन्दा बढी दक्षिण ललितपुरका युवालाई सिप सिकाएको स्मरण गर्दै तालिम पश्चात लाइसेन्स निकाल्ने गरि सहजीकरण गर्ने बताए ।

३० प्रतिशत सहभागीले र ७० प्रतिशत शुल्क वडाले व्यहोर्ने गरि तालिम संचालन भएको हो । सहभागी सबैले सिप नसिकुञ्जेल सिकाइने भएकालेपनि तालिम प्रभावकारी हुने सहभागीहरुको विश्वास छ ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार