एनपिएलको पहिलो उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै



नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल आज हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुँदैछ।

सुदुरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेको हो भने जनकपुर दोस्रो क्वालिफायर खेल्दै फाइनल पुगेको हो। एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच आज हुने लागेको भेट तेस्रो हो। लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टिम आमनेसामने भइसकेका छन्। दुवै पटकको भेटमा जनकपुर पराजित भएको थियो।

प्रतियोगितामा कुल ८ खेल खेलेको सुदूरपश्चिम एक खेलमा मात्रै पराजित भएको छ। लिग चरणमा सुदूरपश्चिमलाई चितवन राइनोजले हराएको थियो। ९ खेल खेलेको जनकपुर भने तीन खेलमा पराजित भएको छ। दुई खेल सुदूरपश्चिम र एक खेल चितवन राइनोजसँगै जनकपुर पराजित भएको छ।

जनपुरका नियमित कप्तान चोटका कारण मैदानबाहिर छन्। उनको अनुपस्थितिमा टिमको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन्। जनकपुर र सुदूरपश्चिमबीच यसअघि भएका दुवै खेलमा त्रिवि मैदान खचाखच दर्शकले भरिएका थिए। फाइनल खेलको टिकट पनि खुलेको केही घन्टामै सोल्ड आउट भएको थियो।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार