ओलीको प्रश्नः नेपालमा मार्क्सवाद पढाउन लेनिन र एंगेल्स आएका थिए ?



kpoli

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको बताएका छन । आज आइतबार एमाले केन्द्रीय सङ्गठन विभागले एमाले मुख्यालय च्यासमा गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।

उनले सहि र सत्य विचारमा अडिने र त्यसलाई अघि बढाउन सक्नुपर्ने बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा अहिले केही प्रवृत्तिहरू देखिएका छन् । पार्टीमै भोटो फटाएको तर नेतृत्व दिन नसक्ने ।

विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने, ‘असहमति राखेर आफूलाई फरक देखाउन खोज्ने प्रवृत्ति छ ।’ ओलीले त्यस्ता प्रवृत्ति प्रतिक्रियावादी शक्तिको पछि लाग्ने गरेको पनि बताएका छन ।

उनले भने, ‘प्रतिकृयावादी शक्तिले त अन्तर्विरोध पैदा गरेर राज गर्न खोजिहाल्छ, उसको नीति नै त्यहीँ हो’, ओलीको भनाइ छ । अध्यक्ष ओलीले सबै ठाउँको अन्तर्विरोध पार्टीको मुख्य नेतृत्वले समाधान गर्न नसक्ने भन्दै विचारका आधारमा सम्बन्धितहरूले नै मिलाउन सक्नुपर्ने पनि बताएका छन ।

ओलले नेता कार्यकर्तातर्फ लक्षित गर्दै भने, ‘पुष्पलालले सही विचार लिएर हिँड्नु भए पनि त्यसबेला पार्टीमा सहमति जुटाउन सकेनन् भन्छौँ, ‘पुष्पलालले सकेनन् भनेर हुन्न,हामीलाई मार्क्सवादी बनाउन कार्ल मार्क्स आफैँ नेपालमा आएका थिए र ? लेनिन, एंगेल्स आएका थिए ? त्यसैले सही विचारलाई र नेतृत्वलाई अघि बढाउन कोही आउन पर्दैन ।’

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार