कालीदेवीमा बन्यो जापान सरकारको सहयोगमा सुविधा सम्पन्न छात्रावास, राजदूत किकुताले गरे हस्तान्तरण



ललितपुर । जापान सरकारको सहयोगमा निर्मित सुविधा सम्पन्न महिला छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानी राजदूत किकुता यूताकाले ललितपुरको बागमती गाउँपालिका वाड नं. २ माल्टाकाे कालीदेवी माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न छात्रावास भवन आज साेमबार विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नुभएको हाे ।

जापान सरकारको  ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’  (सीजीपी) अन्तर्गत दुई करोड पाँच लाखको लागतमा सुविधासम्पन्न छात्रावास निर्माण गरिएको राजदूत युताकाले बताउनुभयो।

छात्रावास हस्तान्तरण गर्दै राजदूत यूताकाले छात्रावास निर्माण कार्यमा संलग्न सबैको प्रयासको प्रशंसा गर्नुभयाे। उहाँले छात्रावास निर्माण भइसकेपछि लामो दूरी तय गरेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास  व्यक्त गर्नुभयाे।

“मेराे तीन वर्ष ९ महिनाकाे कार्यकाल पूरा गरेर केही दिनमा जापान फर्किंदैछु, याे छात्रावास भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न पाएकाेमा म ज्यादै हर्सित छु, यसले यहाँका विद्यार्थीहरुकाे सुन्दर भविष्य निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेराे विश्वास छ।” यूताकाले भन्नुभयो ।

नवनिर्मित छात्रावासले पठनपाठनका लागि अनुकूल वातावरण निर्माण गर्ने राजदूत किकुताको भनाइ थियो। उहाँले भूकम्पपछि क्षतिग्रस्त भएका विद्यालयको कक्षाकोठा पनि जापान सरकारको सहयोगले पुनर्निर्माण गरिएको उल्लेख गर्नुभयाे।

राजदूत किकुताले नवनिर्मित छात्रवास भवनको संरक्षणका लागि विद्यालय व्यवस्थापनका साथै स्थानीयवासी गम्भीर भएर लाग्ने विश्वास समेत व्यक्त गर्नुभयाे। उहाँले नेपाली समाजको विकास र नेपाल–जापानबीचको सम्बन्ध स्थापित गर्ने गरी अगाडि बढ्न विद्यालयका विद्यार्थीहरूलाई आग्रह गर्नुभयाे।

बागमती गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले जापान सरकार र राजदूतावासले पुर्‍याएकाे याेगदान चीरस्मरणीय हुने बताउनुभयो । “मैले पनि यही पढेकाे हाे, हाम्राे समयमा ज्यादै दु:ख गरेर पढ्नु पर्थ्याे, तर अहिले धेरै सुविधाहरु थपिएका छन्, विद्यार्थी भाइवहिनीहरुले यी सुविधाहरुकाे उचित उपयाेग गरेर राम्रो शिक्षा हासिल गर्न सक्नुहुनेछ भन्ने मेराे विश्वास छ।” उपाध्यक्ष दर्लामीले भन्नुभयो ।

उहाँले विद्यालयकाे भाैतिक विकास र विद्यार्थीहरुकाे शैक्षिक गुणस्तर सुधार्न पालिकाबाट हरसम्भव सहयाेग र समन्वय गर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक महेश कुमार घिमिरेले टाढाबाट आउनु पर्दा विद्यार्थीहरु बिचमै पढाइ छाड्ने अवस्था आउने तथा छात्राहरु असुरक्षित भएको अवस्थालाई समाधान गर्न विद्यालयले अघि सारेकाे छात्रावास बनाउने परियोजनालाई सफल र सार्थक बनाउन जापान सरकार र राजदूताबासले गरेको सहयाेग महत्त्वपूर्ण र अविस्मरणीय भएको बताउनुभयाे।

यस विद्यालयले कक्षा १२ मा सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको प्रधानाध्यापक घिमिरेले जानकारी गराउनुभयाे। “विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला नर्सिंग क्लिनिक, गणित प्रयोगशाला, डिजिटल डिस्प्ले, सिसी क्यामेरा, क्यान्टिन, शौचालय, खानेपानी, सुरक्षित घेराबार, खेलमैदान, जस्ता पूर्वाधार तयार भएका छन् । यस विद्यालयको शैक्षिक नतिजा सकारात्मक सूचकका साथ अगाडि बढेको छ ।” उहाँले भन्नुभयो ।

प्रधानाध्यापक घिमिरेले यस विद्यालयमा अहिले १ सय ७८ जना छात्र र १ सय ७१ जना छात्राहरु गरी कुल ३ सय ४९ जना अध्ययनरत रहेकाे जानकारी गराउनुभयाे । वि.सं २०१९ सालमा विद्यालयमा कुल २१ जना शिक्षक तथा कर्मचारी सेवारत रहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार