धरानका उपमेयरको वडाअध्यक्षलाई चेतावनीः कार्यबाहक मेयर म हुँ, कुर्सीमा बस्ने दुस्साहस नगर्नु



धरान उपमहानगरपालिकाका उममेयर अईन्द्रबिक्रम बेघाले मेयर हर्क साम्पाङले कानूनविपरीत वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै आपत्ति जनाएका छन् ।

बेघाले मंगलबार पत्रकार सम्मेलन गरी साम्पाङको कदम स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को १ को (क) को १२ नम्बरको व्यवस्थाविपरीत भएको बताए ।

उक्त दफामा मेयरको अनुपस्थितिमा उपमेयर र उपमेयर पनि नभएको हकमा मात्र अन्यलाई कार्यबाहकको अधिकार प्रत्यायोजन गर्ने प्रष्ट कानूनी व्यवस्था रहेको उनले बताए । साम्पाङले कार्यबाहक दिँदा कुनै धारा र दफा उल्लेख नगरिएको भन्दै स्थानीय सरकार ऐनले चल्ने उल्लेख गरे ।

‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ व्यवस्था ऐनमा छ ।

‘संविधान र कानूनले सबैको क्षेत्राधिकार र काम निर्दिष्ट गरेको छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष भनेको जिम्मेवारी हो । यी पदहरूबीच कुनै आग्रह वा पूर्वाग्रह हुन मिल्दैन,’ बेघाले भने, ‘यसमा व्यक्तिगत ढंगले निर्देशन वा आदेश गर्ने कुरा छैन । नगर प्रमुखले नगरपालिकालाई नै विवादित बनाउने हिसाबले अधिकार प्रत्यायोजन गर्नुभयो । यसले हामीलाई गम्भीर बनाएको छ ।’

यस्ता क्रियाकलापले नगरलाई विवादित बनाउने उनले बताए । कानुनी प्रश्न उठ्ने गरी चालिएको कदम तत्काल सच्याउन उनले मेयर साम्पाङसँग माग गरे ।

के आधार र कुन दफाअनुसार कार्यबाहक तोकेको भन्ने मेयर साम्पाङले स्पष्ट गर्नुपर्ने बेघाले बताए । कार्यबाहक जो भए पनि आफूलाई फरक नपर्ने भन्दै उनले त्यो प्रक्रिया संगत हुनुपर्ने बताए ।

मेयर साम्पाङको कदमले उपमहानगरभित्र कानूनी राज्यमाथि गम्भीर प्रश्न उठेको भन्दै कानूनबाहिर गएर गरिएको निर्णय मान्न नसकिने स्पष्ट गरे ।

आफू बेलायत भ्रमणमा जाने भएपछि साम्पाङले २८ असोजदेखि आफू नफर्कंदासम्मका लागि उपमेयर बेघालाई कार्यबाहक नदिई उक्त जिम्मेवारी वडा नम्बर–११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई दिएका छन् ।

साम्पाङ स्वतन्त्र, उपमेयर बेघा माओवादी केन्द्र र ११ का वडाअध्यक्ष फागु काँग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार