नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलकामा आइतबारदेखि सुरु भएको छ । सोमबार सकिने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७४ जनाको उपस्थिति छ । उक्त बैठकमा अध्यक्ष ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी सहभागी छन् ।

बैठकमा बोल्ने अधिकांशले नेतृत्वको विकल्प खोज्नका लागि विधिको विकास गर्नुपर्ने र विधानको पालना गर्नुपर्ने, जनवादको अभ्यास गरिनुपर्नेमा जोड दिएका छन् । अल्फाबेटिकल लेटरको आधारमा नेताहरूले क्रमैसँग आफ्ना कुरा राखेका छन् । सबैलाई बोल्न पाँच मिनेटको समय दिइएको छ ।

प्रचण्डले पार्टीलाई खल्तीबाट निकाल्नुपर्ने आशय बैठकमा अधिकांश वक्ताले राखेको एक नेताले जानकारी दिए । ‘संगठनात्मक दृष्टिले पार्टी बिग्रियो, भत्कियो, यसलाई संगठननात्मक विधिमा ल्याउनु पर्यो, सिस्टममा ल्याउनु पर्यो । खल्तीमा पार्टी राख्नु भएन भन्ने विषय जोडतोडले उठेको छ’, बैठकमा सहभागी ती नेताले भने, ‘चुनवाङ बैठक यता भएका पार्टीका कामलाई संश्लेषण गर्नुपर्यो । के आधारमा जनतामा जाने ? अरूभन्दा फरक कसरी हुने? जनताले कांग्रेस र एमालेकै डालोमा हालिसके भनेर कुरा राखेका छन् ।’
उनका अनुसार जनार्दन शर्माको फरक मत या अन्य नेताले राखेका आफ्ना विचारको विषयमा भन्दा पनि समग्रतामा कुरा आएको छ । ‘फलानो ढिस्काना भन्ने त्यहाँ आएको छैन । सबै विचारलाई रक्षा गरेर जानुपर्छ भन्ने कुरा आएको छ,’ उनले भने ।
यद्यपि अझै पनि नेताहरूले निर्धक्क भएर कुरा राख्न नसकेको एक सहभागीले बताए । ‘फरक विचार राखेकै कारण नेताहरूले विगतमा फरक व्यवहार गरेका थिए । त्यही अनुसार अहिले पनि त्यस्तै होला कि भनेर खुलेर कुरा नराखेको हो कि भन्ने देखियो,’ ती नेताले भने ।





