
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयसंग भएका अनुसन्धानकर्तालाई समुदायसंग जाेड्नु पर्छ भन्ने धारणा राख्नुभएको छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले आज ललितपुरमा आयाेजना गरेको ‘एजुकेसन सिस्टम इम्पिमेन्टेशन’ कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री भट्टराईले अनुसन्धानकर्तालाई समुदायसंग जाेड्दै विद्यार्थीकाे आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिबृद्धिका काम गर्नुपर्छ भन्ने बताउनुभएको हाे ।
“विश्वविद्यालयले अनुसन्धान गरेका बिषयवस्तुहरुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेकाे छैन, कार्यकारी भूमिकामा रहेकाे सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर सम्बाद चल्नुपर्छ, युवा देशबाट विदेशिनुकाे कारण राज्य पहिलाे भन्ने कुरा स्थापित गर्न नसक्नु हाे, हामीले पारस्परिक सहकार्य र सहयाेगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौं ।” मन्त्री भट्टराईले भन्नुभयो।
उहाँले विश्वविद्यालयसंग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जाेड दिनुपर्नेछ भन्नुहुँदै प्रदेश र स्थानीय तहसंग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राख्नुभयाे । उहाँले युवाहरुकाे चाहानमा देशको विकास गर्ने गरि उनीहरुकै चाहानामा ज्ञानसीप युक्त बनाउन तालिम र काेर्षहरुकाे विकास गरिनुपर्छ भन्नेमा जाेड दिनुभयाे ।
“हामी विद्यार्थीमैत्री हुन सकेका छैनौं,विद्यार्थीकाे आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिबृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका याेजनालाई जाेड्नुपर्छ।” उहाँले भन्नुभयो ।
प्रविधिकाे क्षेत्रमा विश्वविद्यालयसंग समन्वय र छलफल गर्नेबताउनुहुँदै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गर्नुभयाे ।
काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर भाेला थापाले विश्वविद्यालयकाे काम शिक्षा र सेवा दिने मात्रै हैन अनुसन्धान गर्ने पनि हाे भन्ने धारणा राख्नुभयाे ।
“नाैलाे र नवीन काम गर्न डराउनु हुँदैन, विद्यालय शिक्षालाई उत्कृष्ट बनाउन उच्चशिक्षा पनि राम्रो हुनुपर्छ, देशकाे उन्नति र स्राेत र साधनको उपयाेगका लागि ध्यान दिनुपर्छ। जिम्मेवारी, रणनीति याेगदानकाे मुल्यांकन गर्दै नेपालकाे शिक्षालाई अगाडि बढाउने काममा हामीले गर्ने काम महत्त्वपूर्ण हुनेछ।” प्रा.डा. थापाले भन्नुभयो ।
माध्यमिक शिक्षककाे हैसियत भन्दा प्राविधिक धारका शिक्षा दिने इन्जिनियरकाे मान्यता विद्यालय तहमा नहुनुले समस्या छ भन्नुहुँदै उहाँले विद्यार्थीले खाेजेका चाहाना पूरा गरेर ज्ञान पनि भरिदिनु पर्ने अहिलेकाे आवश्यकता रहेकाे बताउनुभयो ।
नविनतम् प्रविधि र शिक्षाकाे क्षेत्रमा नेपाल सरकारले के भन्छ भन्दापनि अन्तर्राष्ट्रिय संस्थाहरुले के भन्छ भन्ने अहिले हाम्रो चुनाैती छ भन्नुहुँदै उहाँले विश्वविद्यालयले ‘मेन्टरिङ’ गर्नेमा ध्यान दिनुपर्छ भन्नेमा जाेड दिनुभयाे । हामीलाई समृद्ध बनाउने परम्परागत सीपलाई छाेडेर आधुनिकतातर्फ जाँदा दु:ख पाइरहेका छाैं भन्नुहुँदै उहाँले काठमाडौं विश्वविद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै प्रभावकारी ढंगले अगाडि बढ्ने बताउनुभयो ।
मन्त्रालयका सहसचिव वैकुण्ठ प्रसाद अर्यालले प्रविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम प्रदान गर्ने निकायमा विद्यार्थी भर्ना दर सन्ताेषजनक नभएको बताउनुभयो । उहाँले प्राविधिक शिक्षाका क्षेत्रमा लक्ष्य र बजारको तालमेल हुन सकिरहेको छैन भन्दै यसतर्फ सरकारकाे बजेट विनियोजन कम भएको धारणा राख्नुभयाे। उहाँले बजारकाे माग अनुसार सिटिइभिटीकाे क्षमता अभिबृद्धि गर्ने कार्यलाई ध्यान दिनुपर्नेमा ध्यानाकृष्ट गर्नुभयाे ।
काठमाडौं स्कुल अफ एजुकेसनका डीन प्रा डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयले तीन वर्षयता समुदायसंग मिलेर काम गरिरहेको जानकारी गराउनुभयाे । उहाँले देशका १९ वटा पलिकाका समुदायमा पुगेर ३६ वटा शैक्षिक संस्थाका साथै अन्य निजी संस्थाहरुसंग समेत मिलेर काम गरिरहेको बताउनुभयो ।
पूर्वडिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले प्राविधिक र व्यवसायिक शिक्षा क्षेत्रमा लामाे समयदेखि काम गर्दै आएकाे विश्वविद्यालयले देशभरका विभिन्न पाँच स्थानमा कार्यक्रमहरु गर्दै आएकाे र सात वर्षदेखि विभिन्न विषयमा अनुसन्धान गरेकाे जानकारी गराउनुभयाे । उहाँले प्राविधिक तथा व्यवसायिक शिक्षामा सहयाेग पुर्याउन गरिने अनुसन्धान र तथ्यांकलाई विश्वासनीय बनाउँदै संघीय सरकारलाई कसरी सहयाेग गर्न सकिन्छ भन्ने अभिप्राय विश्वविद्यालयकाे रहेकाे बताउनुभयो ।