ललितपुर महानगरको बजेट नगरसभाबाट पारित



ललितपुर । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षकाे लागि प्रस्तावित बार्षिक बजेट पारित गरेको छ। यही १० गते बसेकाे महानगरकाे नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेश गर्नुभएको २०८१/०८२ काे बार्षिक बजेट, आर्थिक विद्येयक आज बसेको नगरसभाकाे सर्वसम्मतिकाे निर्णयले पारित भएको प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयाे ।

महानगरकाे कार्यपालिका वाेर्ड बैठकबाट निर्णय भइ असार १० गतेकाे नगरसभामा उपप्रमुख बज्राचार्यले ७ अर्ब ४६ कराेड ८३ लाख ९२ हजारकाे बजेट पेश गर्नुभएकाे थियाे।
” महानगरकाे पाँचौं नगरसभाकाे पहिलाे बैठकमा असार पाँच गते प्रमुखज्यूले पेश गर्नुभएको नीति तथा कार्यक्रम असार ७ गते बसेकाे दाेस्राे बैठकले पारित गरेको थियाे, साेही आधारमा १० गतेकाे तेस्रो बैठकमा उपप्रमुख मञ्जली शाक्यले बज्राचार्यले नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गर्नुभएकाे थियाे। नगरसभा सदस्यहरुले ७ दिन अध्ययन गरेर आज नगरसभामा छलफल गरेर पारित गरिएको हाे ।” प्रवक्ता महर्जनले भन्नुभयो ।

“बार्षिक बजेटमा स्राेतकाे ब्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ३२ कराेड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ कराेड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकाे छ, आन्तरिक स्राेतबाट ३अर्व ५५ कराेड ९६ लाख संकलन हुने अनुमान गरिएको छ।” प्रवक्ता महर्जनले भन्नुभयो।

प्रवक्ता महर्जनका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

यस वर्षकाे वार्षिक बजेटमा वातावरणीय याेजनाहरुलाई पहिलाे प्राथमिकतामा राखिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी गराउनुभयाे । “चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढंगबाट छलफल गर्यौँ, नगरसभामा घनीभूत छलफलपछि नगरसभाका सदस्यहरुले राख्नुभएको केही संशोधन सहित बजेट पारित भयाे,वातावरणीय याेजनाहरुलाई पहिलाे प्राथमिकतामा राखिएको छ, शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छाैं, जेष्ठ नागरिक र बालबालिकाहरु समेतलाई प्राथमिकतामा राखेका छाैं।” प्रमुख महर्जनले भन्नुभयो ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका साथै पाेखरीहरुकाे संरक्षण गर्दै शहरी साैन्दर्यता कायम राख्ने कुरालाई महानगरले विगतका वर्षहरुदेखि नै प्राथमिकतामा राख्दै आएकाे छ ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार