पोल पोलमा ‘सवि’, बालेन बने कवि: माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक बिभागले काठमाडौंका मूल सडकका विजुलीका पोलमा ‘सवि’लेखेको प्रति कटाक्ष गर्नुभएको छ । सामाजिक संञ्जालमा मेयर साहले लेख्नु भएको छ- जीवन यस्तो होस , तिमीलाई सम्झिने मात्र काम होस , माया यस्तो होस , भित्ता भित्तामा तिम्रो नाम होस !

केही दिनयता काठमाडौंका मूल सडकका विजुलीका पोलमा ‘सवि’ लेखेको देख्न सकिन्छ । संघीय सरकारले स्थानीय निकायसँग आफ्नो अधिकारको पोल हो यो भन्दै ‘सवि’ लेख्दै हिँडेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले बिजुलीका पोलमा ‘सवि’ लेख्ने काम गरेको हो । सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्रका सडक छेउका पोलमा ‘सडक विभाग’ को संक्षिप्त रुप ‘सवि’ लेखिरहेको छ । जनतालाई सडक विभाग मातहतका सडकहरु कुन–कुन हुन् भन्ने थाहा दिन पोलमा ‘सवि’ लेखिएको दाबी विभागको छ ।

काठमाडौं महानगरपालिकाले सडक विभाग अन्तर्गतको सडक बिग्रँदा र समयमै मर्मत नहुँदा आफूमाथि अपजस आएको दाबी गर्दै आएको छ । सडक विभाग माहतहतका कतिपय सडकहरु चुस्त राखेको जस भने काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहले पाउने गरेको डिभिजन सडक कार्यालयको बुझाइ छ ।

संघीय सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने सडक पनि आफैंसँग राख्दा शहरी सडकमा पटक–पटक विभिन्न विवाद सिर्जना भइरहेका छन् ।

सडक विभागले अहिले सडकमा विजुलीका बोलमा ‘सवि’ लेखेर आफ्नो सडक भएको दाबी त गरेका छ तर जनतालाई जुनसुकै निकाय मातहतको सडक भए पनि कुनै फरक पर्ने छैन । केबल सडक राम्रो भए जनतालाई पुग्छ । अधिकारको होडबाजी र जस लिने प्रयासले मात्रै नागरिकले सेवा पाउँदैनन् भन्ने कहिले बुझ्ने ?

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार