ललितपुर । ललितपुरकाे बागमती गाउँपालिकाका स्थानीयबासीले याेजना तर्जुमा प्रक्रियामा जनआवाजलाई समावेश गर्न आग्रह गरेका छन्। गाउँपालिकाबाट चालू आर्थिक बर्ष २०८०/०८१ काे हालसम्म प्रवाह भएका सार्वजनिक सेवाकाे प्रभावकारिता तथा विकास निर्माणकाे गुणस्तरीयतामा आधारित रहेर मंगलबार पालिकाकाे कार्यालय परिसरमा आयाेजित सार्वजनिक सुनुवाईमा गुनासो राख्ने अधिकाँश स्थानीयहरुले जनताप्रति जवाफदेही भएर दैनिक जनजीवनलाई सहज बनाउने गरि याेजना तर्जुमा गर्न आग्रह गरेका हुन् ।

सार्वजनिक सुनुवाइमा धारणा राख्नुहुँदै बागमती गाउँपालिका वडा नं. ५ इकुडाेल महेन्द्र घिमिरेले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेकाे गाउँपालिकामा पालिकाभित्र अनुदान पाएर पनि कृषकहरुले सहज रुपमा काम गर्न सक्ने उपयुक्त वातावरण तयार हुन नसकेको बताउनुभयो । ” कृषि पेशामा लाग्नेले अनुदान पाएर पनि उत्साहित भएर क्षमता अनुसार काम गर्ने बाताबरण तय भएन, पालिकाले बजारसम्म उत्पादित सामागीहरु पुर्याउन सक्ने वातावरण तयार गर्न सकेको छैन।” घिमिरेले भन्नुभयो ।

वडा नं. २ माल्टास्थित कालीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक महेश घिमिरेले विद्यालयलाई बालमैत्री बनाउन पालिकाकाे स्पष्ट याेजना आउन नसकेको बताउनुभयो । उहाँले पालिकास्तरीय परीक्षा सञ्चालनकाे तालिकालाई बार्षिक बजेटमै व्यवस्थापन गरिदिन आग्रह गर्नुभयाे। उहाँले पालिकामा दर्ता गरेको पत्र नै हराउने सिस्टम भएकाे भन्दै पालिकाकाे कार्यालयमा सिसिटिभीकाे व्यवस्थापन हुनुपर्छ भन्ने बताउनुभयो ।

बागमती गाउँपालिका वडा नं. ३ का कृषक तथा युवा व्यवसायी सुमन गाैत्तमले कृषि क्षेत्रमा आधुनिकिकरणका लागि पालिकाले बजेट व्यवस्थापन गर्न नसक्दा स्थानीय उत्पादन वृद्धि हुन नसकेको, विपद व्यवस्थापनमा ध्यान नपुगेकाेले आगलागीबाट धेरैकाे क्षति भएकाे बताउनुभयो । उहाँले डंडेलाेले नासिएकाे स्थान र खाली सार्वजनिक ठाउँमा बृक्षाराेपणका लागि पालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

भट्टेडाँडा आधारभूत विद्यालयका प्रधानाध्याक सिताराम चाैरेलले भट्टेडाँडा स्वास्थ्य चाैकीमा भएको एम्बुलेन्स सञ्चालन आउन सक्ने वातावरण बनाइदिन पालिकालाइ आग्रह गर्नुभयाे ।
वडा नं. २ का दिपेन्द्र चाैलागाईले माल्टामा बर्थिङ् सेन्टर किन सञ्चालन हुन नसकेकाे तर्फ ध्यानाकर्षण गराउँदै पालिकाले सञ्चालन गर्ने परिक्षामा विद्यार्थी उतिर्ण प्रतिशत दर र उपलब्धिका मापनकाे आधार के हाे भन्ने प्रश्न गर्नुभएको थियाे ।
जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयालले मन्तव्य राख्नुहुँदै पहुँचका आधारमा बजेट निर्माण गर्ने प्रचलनकाे अन्त्य गर्नुपर्ने बताउनुभयो । “भाैगाेलिक रुपमा विकट पालिकालाई प्राथमिकतामा राखिनुपर्छ, सबै क्षेत्रकाे विकास समानरुपले हुनुपर्छ।” उहाँले भन्नुभयो ।
वडा नं. ७ गिम्दीका माेहन आले मगरले हरेक वडामा कृषि प्राविधिक हुनुपर्ने भन्दै प्रगतिकाे कुरा कागजमा मात्रै सीमित नगरी काममा पनि उतारिएको हुनुपर्छ भन्नुभयो ।
उपाध्यक्ष भक्तबहादुर दर्लामीले विकास निर्माणमा भएको सेवा प्रवाहकाे अवस्था र सुधार गर्नुपर्ने पक्षका बिषयमा प्राप्त सुझावले जनप्रतिनिधि र कर्मचारीलाई जनताप्रति जवाफदेही बनाउने बताउनुहुँदै प्राप्त सुझावलाई आगामी बर्षकाेे बजेट, नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो । उहाँले २०७४ मा स्थानीय जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म न्यायिक समितिमा ११ वटा मात्रै मुद्दा परेकाेमा १० वटा मुद्दा फर्छ्याैट भइसकेको र १ वटा मुद्दा जिल्ला अदालतकाे क्षेत्रमा पर्ने भएकोले अदालत पठाइएको बताउनुभयो ।
पालिकाकाे बार्षिक स्थितिपत्रकाे प्रस्तुतिकरण गर्नुहुँदै प्रमुख प्रशाशकीय अधिकृत राममणि काफ्लेले यस आर्थिक बर्षकाे दश महिनामा ३० प्रतिशत मात्रै पूँजीगत खर्च भएको बताउँदै आर्थिक बर्षकाे अन्तिममा याेजनाका खर्च गर्ने प्रवृत्ति अन्त्य गर्ने बताउनुभयो । उहाँले पालिकाभित्रकाे विद्यालयकाे शिक्षालाई गुणस्तरीय बनाउन अनुगमन मुल्यांकनमा जाेड दिइएको बताउनुहुँदै रिक्त रहेकाे शिक्षा अधिकृत पदका लागि सहमति प्रदान भैसकेको बताउनुभयो ।
सार्वजनिक सुनुवाइको क्रममा सेवाग्राहीले उठाएका सवाल, जिज्ञासा र प्रश्नहरुकाे आधारमा पालिका अध्यक्ष वीरबहादुर लाेप्चन, उपाध्यक्ष भक्तबहादुर दर्लामी, प्रमुख प्रशाशकीय अधिकृत राममणि काफ्लेका साथै सम्बन्धित वडाका अध्यक्षहरुले जवाफ दिनुभएको थियाे ।
एघार हजार तीन सय ५३ जनसंख्या रहेको बागमती गाउँपालिकाकाे बार्षिक बजेट ४८ कराेड ४० लाख २६ हजार रहेकाे प्रमुख प्रशाशकीय अधिकृत काफ्लेले जानकारी दिनुभयाे ।





