चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ ।

पछिल्लो पटक फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला संसदमा उपस्थित २६८ जना सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले १५७ मत पाएका थिए । जसमा एमालेको ७६, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

जसपा विभाजन भएपछि जसपा नेपालका ५ जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई बाँकी १५२ जनाको समर्थन कायमै छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार