राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्ष सत्तामा बसेर देशलाई कंगाल बनाउने दलले ३० दिन सत्तामा बसेको दललाई प्रश्न गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
शुक्रवार अपराह्न चितवनमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लामिछानेले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्ने आफ्नो पार्टीको नीति यथावत् रहेको पनि बताए।
‘यो मुलुकलाई टाट पल्टाउनेहरूलाई थुन्नुपर्छ भन्ने हाम्रो अडान यथावत् छ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्न सरकारमा गएको हो, गएर काम शुरू गरेको हो । संसदमा पनि म कराएँ, कोही डराएर यो परिस्थिति सिर्जना भएको हो कि भन्ने पनि लाग्छ’, लामिछानेले भने ।
उनले रास्पवाप्रति पुराना दलले प्रश्न गरेको भन्दै आक्रोश पोखे । ‘३० वर्ष सत्तामा बसेर देशलाई हरिकंगाल बनाउनेले ३० दिन सत्तामा बस्ने हामीलाई प्रश्न गरेका छन, त्यो देखेर मलाइ लाज लागेको छ’, उनले भने ।
सरकारले बिहीवार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारको फाइल खोल्ने कुरा हराएकोमा लामिछानेले आश्चर्य प्रकट गरे ।
‘हिजो सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रमबाट कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्ने विगतको निर्णय सुटुक्क हरायो रे ! सरकारलाइ सोध्न जरुरी छ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्ने निर्णयको आधारमा र नीति हेरेर सरकारलाई समर्थन गरेको हो । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपीओली र हामी नै हस्ताक्षरकर्ता हौ । त्यही नीतिका कारण समर्थनलाई समर्थन कायम राखेका छौं । नेपाली जनताबाट गरेको बाचाबाट हामी दायाँबायाँ गर्ने छैनौं।’
लामिछानेले ६ महिनाको अवधिमा रास्वपाले २० सिट ल्याएको र ५ वर्षमा दुई तिहाइ ल्याउने दाबी पनि गरे । ‘मिहेनत गर्यौँ भने ५ वर्षमा दुईतिहाइ ल्याउँछौँ । दुईतिहाइ ल्याएर यस्तो परिवर्तन गर्छौँ, कसैको आँखाबाट आँशु खस्ने छैन।’





