प्रधानमन्त्री प्रचण्डलाई स्वार्थीहरूले भोट देलान्: अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वार्थीहरूले मत दिने बताएका छन्।

सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका हुन्।

गठबन्धनमा रहेका स्वार्थीहरूले भोट दिएपनि आफूहरू स्वार्थी नरहेको उनले बताए।

‘गठबन्धनका स्वार्थीहरूले भोट देलान् तर हामीलाई स्वार्थ छैन, त्यसैले प्रधानमन्त्री संसदको विश्वास छ भन्न सकिँदैन, जित्ने हार्ने छुट्टै कुरा हो स्वार्थको खेल हो, यसमा हामी लतारिनुपर्दैन,’ उनले भने।

यस्तै प्रधानमन्त्री प्रचण्ड जंगबहादुरको शैलीमा रहेको पनि उनले बताए।

‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरूको केही दोष छैन, उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ । उहाँले जे भन्यो त्यही हुन्छ। विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार