‘जनताको निराशालाई आशामा बदल्छु’ भन्दै सडक खाली गराएर कुदे रामचन्द्र पौडेल



काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको निराशालाई आशामा बदल्ने बताएका छन् । साथै उनले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने पनि बताए ।

राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट शुक्रवार पौडेल पशुपतिनाथ दर्शनमा गए । तर उनको सवारीमा पनि पहिलाका राष्ट्रपतिको सडक पूरै खाली गराएर, सर्वसाधारण यात्रुलाई किनारा लगाएर तामझामकै सवारी भयो । पशुपतिबाट उनी सीधै सुन्दरीजलस्थित विपी संग्रहालयमा पुगे ।

सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि उनले सञ्चारकर्मीहरुसँग आफ्नो कुरा राखेका हुन् । सो क्रममा राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको बताए ।

‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि विपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गर्नुभयो । जसरी देशलाई नयाँ दिशा देखाउनु भयो । आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो,’ उनले भने, ‘देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रीक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ । यसैको मातहत रहेर संविधान सभाको २००७ सालमा बिपीले परिकल्पना गर्नुभएको थियो । त्यो संविधान सभाबाट नेपालमा जनताबाट निर्वाचित प्रतिनिधिबाट निर्मित संविधानको निर्माण भएर यो व्यवस्थाको टुङ्गो लागेको छ । अब यो व्यवस्था हामीले चिरस्थायी बनाउँदै यसमा समसामयिक सुधार गर्नुपर्ने भए गर्ने तर यसैलाई हामीले साकार बनाउन कार्यान्वयनमा ल्याउनुपर्छ ।’

देशले पटक पटकको नयाँनयाँ प्रयोग थाप्न नसक्ने भन्दै उनले त्यो क्षमता नेपालसँग नरहेको पनि बताए । उनले भने, ‘राष्ट्रलाई उन्नती गर्ने समय चाहिन्छ । राजनीतिक स्थायीत्व चाहिन्छ । जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ । लोकतन्त्रको लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ती व्यक्त गर्दै उहाँहरुको सपना साकार पार्ने प्राण गर्छु । अहिले जनतामा निराशा जस्तो देखिएको छ । जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमिहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतीको बाटो समात्नुपर्छ । सुशासनबाट देशको उन्नती हुन्छ । सुशासन देशले खोजेको छ । प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनु हुँदैन ।’

राष्ट्रपति पौडेलले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन पनि गरेका थिए । सुन्दरीजलबाट उनी स्वयम्भूनाथको दर्शनमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार