समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा जुँधे



काठमाडौँ । दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्दैछ । त्यसको भोलिपल्ट अर्थात् चैत १८ गते शनिबार शिक्षक सेवा आयोगले पनि माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा सञ्चालन गर्दैछ ।

दुईथरी परीक्षा एकै समयमा सञ्चालन हुने भएपछि शिक्षकहरू दोधारमा परेका छन् । विद्यार्थीको परीक्षा सञ्चालनमा जुट्ने कि आफ्नै परीक्षाको तयारीमा लाग्ने अन्योल उनीहरूमा छ । एसईई परीक्षा सञ्चालनको मुख्य जिम्मेवारी शिक्षककै हुन्छ । परीक्षाको केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परीक्षा निरीक्षक, प्रश्नपत्र तथा उत्तरपुस्तिका वितरण र सङ्कलनको काम पनि शिक्षककै हुन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा एक साताअघि नै शिक्षक तयारीमा लाग्नुपर्ने हुन्छ ।

“विद्यार्थीको भविष्यसँग जोडिएको एसईईलाई राम्रो वातावरणमा सञ्चालन गर्नेतर्फ लाग्ने कि आफ्नै भविष्यको गोरेटो निर्धारण गर्ने स्थायी शिक्षक नियुक्तिसम्बन्धी परीक्षामा लाग्ने ?” काठमाडौँका एक सामुदायिक विद्यालयका शिक्षकले गुनासो गर्दै भने । दुवै परीक्षा उत्तिकै महत्वपूर्ण भएकाले परीक्षा बोर्ड र आयोगले एकापसमा छलफल गरेर दुईमध्ये एउटा परीक्षा स्थगित गर्नुपर्छ ।”

तनावबीच सञ्चालन हुने भएकाले दुवै परीक्षा मर्यादित र स्वच्छ रूपमा सञ्चालन गर्न कठिन हुने शिक्षकहरूको भनाइ छ । शिक्षक सेवा आयोगले माध्यमिक तहतर्फ स्थायी शिक्षक नियुक्तिका लागि चैत १८ गतेका लागि परीक्षा बोर्डको निर्णय हुनुअघि नै परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ । यो समाचार गोरखापत्र दैैनिकमा छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार