राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे बस्दैछ। शनिबार राति साढे ८ बजेदेखि आकस्मिक रूपमा बसेको रास्वपाको बैठकमा आज पुनः बसेर निर्णयमा पुग्ने सहमति भएको हो।
सभापति रवि लामिछानेले आवश्यक परेमा आइतबार संसदमा नगईकन बैठकमा सहभागी हुने बताएका छन्।
यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका उपनेता विराजभक्त श्रेष्ठले बताए। उनले आज बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारेर आवश्यक निर्णय गर्ने बताए ।
‘बैठकमा विभिन्न तरिकाले छलफल भएको छ। हामी आज ११ बजे फेरि बस्छौं। हामीले भर्खर छलफलको सुरूआत गरेका छौं। आज संसदको कार्यसूची महत्वपूर्ण छैन। हाम्रो बैठक लम्बिन सक्छ। त्यस्तो अवस्थामा हामी संसद नगई बैठक गर्छौं,’ पार्टीका उपनेता विराजभक्त श्रेष्ठले भने।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहको सट्टा भौतिक मन्त्रालय लिन रास्वपाका सभापति रवि लामिछानेलाई प्रस्ताव राखेका छन्। उनले यो प्रस्तावबारे बैठकमा केही भनेनन्।
उनले बैठकमा ‘प्रधानमन्त्रीले हामी अस्तिको छलफलमा छौं, सहकार्य गरेर अगाडि जानुपर्छ भन्नुभएको छ’ भनेर सुनाएका थिए। बैठकपछि पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले भने शनिबारको बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल भएको बताए।
‘हाम्रो घोषणापत्रमा उल्लेख भए अनुसार गैरदलीय व्यक्ति राष्ट्रपति बनाउँदा के हुन्छ भनेर धारणा आएका छन्। त्यस्तै गठबन्धनको सहमति अनुसार जाँदा के हुन्छ भनेर पनि धारणा आएका छन्। आज फेरि छलफलमा बस्छौं,’ कार्कीले भने।
रास्वपाले आफूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले दुई दिनका लागि बैठक स्थगित गरिएको थियो।
बिहीबारको रास्वपाको बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड तथा एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले दुई दिन पर्खौं भनेका थिए। शनिबारै सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै छलफल जारी रहेको र समस्याको समाधान हुने बताएका थिए।





