सबैखाले श्रम स्वीकृति सातै प्रदेशबाट लिन सकिने, लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य



सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट सबैखाले श्रम स्वीकृति अनलाइनबाटै प्रदान हुन थालेको छ ।

सोमबारदेखि कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेका श्रम तथा रोजगार कार्यालयबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति समेत प्रदान हुन थालेसँगै सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट सबैखाले श्रम स्वीकृति अनलाइनबाटै लिन मिल्ने व्यवस्था भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

आज सोमबार श्रम मन्त्री डोलप्रसाद अर्यालले सुर्खेत र धनगढीमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबैखाले श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थाको शुभारम्भ गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ ।

यसअघि काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयसँगै बुटवल, पोखरा, विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट सबैखाले श्रम स्वीकृति अनलाइनबाटै लिन मिल्ने व्यवस्था भइसकेको छ ।

यो व्यवस्था हुनु अघिसम्म उपत्यका बाहिर रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट पुनः श्रम स्वीकृति सेवा मात्रै प्रदान हुन्थ्यो । तर पछिल्लो समय श्रम मन्त्रालय र अन्तर्गतका निकायहरूबाट प्रदान हुने सेवालाई सूचना प्रविधियुक्त बनाउँदै लगिरहेको छ ।

यो व्यवस्था भएसँगै श्रम स्वीकृति सम्बन्धी कुनै पनि काम गर्न कार्यालयमा कागजात लिएर लाइन लाग्न पर्दैन भने काठमाण्डौ धाउन पनि पर्दैन । अनलाइनबाट नै सबै प्रक्रिया गरी अनलाइनमार्फत नै श्रम स्टिकर प्राप्त गर्न सकिन्छ ।

अनलाइनबाट नै सबैखाले श्रम स्वीकृति सातै प्रदेशबाट लिन मिल्ने व्यवस्था भएको भन्दै मन्त्रालयले समयमै श्रम स्वीकृतिको आवेदन दिन र श्रम स्वीकृति प्राप्त भएपछि मात्र विदेश उड्ने जहाजको टिकट काट्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार