मुख्यमन्त्रीको भागबन्डा : एमाले चार, माओवादी २, जसपा र जनमतबीच आलोपालो, राप्रपालाई सभामुख



काठमाडौं । सत्तागठबन्धनमा आबद्ध दलहरुले प्रदेश सरकारको मुख्यमन्त्री बनाउने कामको छिनोफानो गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेलाई ४, मा‌ओवादी केन्द्रलाई २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीलाई दुई मुख्यमन्त्री आलोपालो हुने गरी सहमति जुटाएको हो ।

गठबन्धनको सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाँच वर्षका लागि ढुक्कले पाएको छ भने माओवादीले कर्णाली प्रदेशको सरकार नेतृत्व ५ वर्षका लागि पाएको छ ।

तर, बागमती र सुदूरपश्चिममा एमाले र माओवादी आलोपालो मुख्यमन्त्री बन्नेछन् । सहमतिअनुसार बागमतीमा सभामुख राप्रपाले पाएको छ भने एमालेले उपसभामुख लिने सहमति भएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिने सहमति भएको छ। प्रदेश १ मा भने मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

भागबन्डाका लागि बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार