एमाले प्रवेश गरे स्वतन्त्र सांसद किरणकुमार साह



रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधि सभा सांसद भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन्।

एमाले अध्यक्ष ओलीले साहलाई पार्टी प्रवेश गराएका हुन्। गत मंसिरमा भएको चुनावमा साहले नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमलाई हराएका थिए।

उनी २०७७ मा जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा गएका थिए। तर उनलाई गत मंसिरमा भएको चुनावमा एमालेले टिकट दिएको थिएन। उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
चुनाव जितेपछि उनी पुन: एमालेमै फर्किएका छन्।

साहलाई हालै प्रभु साहले खोलेको आम जनता पार्टीमा राखिएको थियो तर उनले उक्त पार्टीमा बस्न अस्वीकार गरेका थिए। साहलाई आम जनता पार्टीको संसदीय विभाग प्रमुख बनाइएको थियो।

साह एमालेमा प्रवेश गरेसँगै अब प्रतिनिधि सभामा एमालेको एक सिट बढेको छ। प्रतिनिधि सभामा अब एमालेबाट ७९ जना सांसद पुगेका छन्।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार