लकडाउन उल्लंघन बढेपछि जिल्लाका प्रशासन कार्यालयलाई गृहको परिपत्र, विना पासका गाडी रोक्न निर्देशन !



१५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरु भन्दै ७ वटा गाडीमा १६० जनालाई काठमाडौं उपत्यकामा पठायो ।

साथै सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ । ‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘लकडाउन खुकुलो भएको गुनासो आएपछि आज फेरि परिपत्र गरेर त्यसलाई सम्झाएका छौं ।’ गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकाअनुसार सोमबार मात्रै एक हजार १२४ जना व्यक्ति उपत्यकाबाट कारबाहीमा परेका छन् । यस्तै ६२ वटा सवारीसाधन पनि कारबाहीमा परे ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार