काठमाडौं । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
भाषा परीक्षामा आठ हजार ७८५ जना उत्तिर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए । उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ ।
पहिलो चरणमा सात हजार १४२ जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए । सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।
उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ । सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तिर्ण भइ रोष्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने उनले बताए । २०२२ मा उत्पादनतर्फ १५ हजार ९२७ जना भाषा परीक्षा उत्तिर्ण भइ रोष्टरमा छन् ।
सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर/जनवरी महिनामा हुनेछ । सन् २०२२ का लागि कृषितर्फ उत्तिर्ण भएका तीन हजारमध्ये आधाभन्दा बढीको रोजगार सम्झौता आइसकेको छ ।
“सन् २०२२ का लागि कृषि क्षेत्रतर्फ उत्तिर्ण भएका एक हजार ५०० जनाको रोजगार सम्झौता आइसकेको छ,” निर्देशक कटुवालले भने, “बाँकीको पनि रोजगार सम्झौता आउने चरणमा छ ।” कृषितर्फ रोष्टरमा रहेका श्रमिकको सङ्ख्या सकिन लागेकाले सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा छिट्टै हुन लागेको उनको भनाइ छ ।
दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ । नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली (ईपीएस) सम्झौता भएको थियो ।
ईपीएस सम्झौता भएयता भाषा परीक्षा उत्तिर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । अहिले भाषा परीक्षा उत्तिर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । कोरियामा ईपीएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा रहेको छ । पहिलो सूचीमा कम्बोडिया छ । रासस





