बढ्यो रेमिट्यान्स र मलेसिया जानेको संख्या, कति नेपाली गए शून्य लागतमा ?
चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा अघिल्लो वर्षको तुलनामा १२३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणमार्फत अन्तिम श्रम स्वीकृतिलिने नेपालीको संख्या १२३.१ प्रतिशतले बढेको छ ।
यस अवधिमा १ लाख ४७ हजार ९ सय ३२ जना नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । नेपाली कामदार वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएपनि गन्तव्य भने परम्परागत रूपमा रहेका खाडी क्षेत्रका ६ मुलुक र मलेसिया नै रहेका छन् ।
राष्ट्र बैंकको तथ्यांकमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा ६६.२ प्रतिशतले बढेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा भएको वृद्धिसँगै विप्रेषण (रेमिट्यान्स) आप्रवाह १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । बैंकका अनुसार अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स ७.१ प्रतिशतले घटेको थियो ।
ठूलो संख्यामा नेपाली कामदार रहेकोे मलेसियामा गत जनवरीदेखि कामदारको न्यूनतम तलब २५ प्रतिशतले बढेको थियोे । मलेसियामा कामदारको तलब वृद्धि र कोरोनापछि ठूलै संख्यामा नेपाली कामदार रोजगारीमा गएकोले रेमिट्यान्समा उल्लेख्य मात्रामा वृद्धि भएको बताइएको छ ।





