जेरीको ‘सेक्रिफाइस’: सम्भावित डिभोर्सको अन्तरकथा, शंकर अर्कै युवतीसँग लागेको दाबी



नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो- दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।

डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो ।

तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने छ । पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् ।

जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्‍याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् । जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।

‘तर, शंकरको मन फर्किने सम्भावना न्यून छ’, स्रोतले भन्यो । काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि दायर मुद्दा सामान्य प्राविधिक कारणले मात्रै अड्किएको हो । उनीहरुलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो ।

तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अदालत खुल्नेछ । उनको चाहनाले मात्रै डिभोर्स टर्ने सम्भावना न्यून देखिन्छ ।

स्रोतका अनुसार जेरीसँग सम्बन्धविच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्न सक्छन् । अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ ।

शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।

शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई लात हानेको भन्दै गालीगलौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।

विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो । तर, श्रीमान-श्रीमतीको सम्बन्धमा विस्तारै चिसोपना आउन थाल्यो । अन्ततः उनीहरु सम्बन्धलाई बिट मार्ने निष्कर्षमा पुगेका हुन् । यो निर्णय जेरीले शंकरका लागि गरेको ‘सेक्रिफाइस’ भएको दुवै निकटस्थ स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार